काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दा दायर गरेको छ। राजस्व चुहावटसम्बन्धी छानबिनबाट बचाइदिने तथा सहजीकरण गरिदिने भन्दै श्रीकृष्ण श्रेष्ठ बिज्यू सञ्चालक रहेको एचके इन्टरप्राइजेज प्रालिबाट ७० लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अनुसन्धानबाट उक्त रकम विभिन्न व्यक्तिको खातामार्फत बैंकिङ प्रणाली प्रयोग गरेर रूपान्तरण गरिएको र त्यसको केही रकम जग्गा खरिद तथा कर्जा भुक्तानीमा प्रयोग गरिएको तथ्य खुलेको आयोगले जनाएको छ।
२० लाख रुपैयाँ द कुटी रिसोर्ट प्रालिका म्यानेजिङ डाइरेक्टर देवेन्द्र केसीको बैंक खातामार्फत कम्पनीको कर्जा तिर्न प्रयोग गरिएको र ५० लाख रुपैयाँ विभिन्न चरणमा बैंक खातामार्फत रूपान्तरण गरी रविन्द्र लामिछानेको नाममा भक्तपुरको मध्यपुर थिमी नगरपालिका क्षेत्रमा रहेको दिव्यश्वरी आयोजनाभित्रको जग्गा खरिदमा लगानी गरिएको आयोगको दाबी छ।
आयोगले घुस लिने मुख्य कसुरमा तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दायर गरेको छ। सोही घुस रकमलाई बैंक खातामार्फत लुकाइछिपाइ गरी कर्जा भुक्तानी र जग्गा खरिदमा प्रयोग गर्ने लामिछाने र केसीलाई पनि सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।


