काठमाडौँः अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखहरूसँग बिदाइ भेट गरेका छन्। अर्थमन्त्रीको कार्यकाल नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै सकिन लागेको हो।
सोमबारको भेटघाटमा अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराल समेत उपस्थित थिए। नियामक निकायको तर्फबाट नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ उपस्थित थिए।
उक्त भेटघाटमा अर्थमन्त्री खनालले आफू अर्थमन्त्रीको रूपमा कार्यरत रहँदा समष्टिगत आर्थिक स्थायित्व कायम गर्न, लगानीका लागि उपयुक्त वातावरण सिर्जना गर्न, पुँजी बजारलाई पारदर्शी र लगानीमैत्री बनाउन, साथै आर्थिक सुशासन कायम गराउन नियामक निकायहरूले खेलेको भूमिकाप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
नियामक निकायका प्रमुखहरूले पनि अर्थमन्त्रीसँगको सहकार्य फलदायी रहेको स्मरण गर्दै नेपालको बैंक तथा वित्तीय क्षेत्रको विकास र वित्तीय अनुशासन कायम गर्न अर्थ मन्त्रालयले अवलम्बन गरेका नीति र मार्गनिर्देशनको लागि अर्थमन्त्रीप्रति आभार व्यक्त गरेका छन्।


