काठमाडौँ- नक्क्ली भुटानी शरणार्थी प्रकरणको मुद्दामा शुक्रबार थुनछेक आदेश आउने भएको छ। यो प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्त पक्षका कानुन व्यवसायीको बहस सकिएपछि शुक्रबार आदेश आउने भएको हो।
साधारण तारेखमा रिहा गर्ने वा धरीटी रकम लिएर रिहा गर्ने वा पुर्पक्षका लागि थुनामा पठाउने विषयको निर्क्योल थुनछेक आदेशले गर्नेछ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भइरहेको यो मुद्दाको सुनुवाईमा शुक्रबार सरकारी वकिलको जवाफी बहस हुने तय भएको छ। यो प्रकरणमा २१ जेठदेखि जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको थियो।
यो प्रकरणमा १२ जना अभियुक्त फरार छन्। उनीहरूका पक्षविपक्षको थुनछेक बहस अदातलमा उपस्थित भएपछि मात्र हुनेछ।
