काठमाडौं–नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीरुलाई कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने अन्तिम फैसला आज हुँदै छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले बिहान सरकारी वकिलको जवाफी बहस सुनेपछि आदेश गर्नेछन्। न्यायाधीश न्यौपानेको इजलासमा सरकारी वकिल र १८ आरोपितका कानुन व्यवसायीको बहस यसअघि सकिएको छ।
आज जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले जवाफी बहस गर्नेछन्। अदालतले १८ आरोपितलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारेखमा छाड्नेबारे आदेश जारी गर्नेछ। आरोपितको संलग्नताका आधारमा इजलासले फरक–फरक आदेश जारी गर्न सक्नेछ।
नक्कली शरणार्थी प्रकरणमा हालसम्म १२ जना फरार छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १८ र फरार ३० जनालाई संगठित अपराध, कीर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चार वटा मुद्दामा २७ करोड ५० लाख रुपैयाँ बिगो मागदाबीसहित जिल्ला अदालत काठमाडौंमा १० जेठमा मुद्दा दायर भएको थियो।
आजको आदेशलाई मुद्दाको अन्तिम फैसला मानिने छैन। जिल्ला अदालतको फैसला चित्त नबुझे सरकारी वकिल र डामिएकाहरु उच्च अदालत हुँदै सर्वोच्चसम्म पुग्न सक्छन्।


