काठमाडौँः स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवाना गरेको छ।
विभागका अनुसार दशरथ ग्रोसरी प्रा.लि., इमाडोललाई ५० हजार रुपैयाँ, शाह एण्ड शाह इन्टरप्राइजेज, सूर्यविनायक–बालकोटलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ। यस्तै, ए एण्ड ए सपिङ सेन्टर, महालक्ष्मी–५, टिकाथलीलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ।
स्थलगत अनुगमनका क्रममा कानुनविपरीत कारोबार भएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम ती फर्महरूलाई कारबाही गरिएको हो।
थप १५ वटा फर्मलाई भने विभागले सुधारात्मक निर्देशन दिएको छ। स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाहरूको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ।


