काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले शुक्रबार प्रधानमन्त्रीका रूपमा शपथ लिँदैछन्। उनले वैदिक सनातन देखिनेगरी साइत हेराएर स्वस्ति शान्ति गरेर शपथ लिने तयारी गरेका छन्।
साइत हेराएर उनले शुक्रबार दिउँसो १२:३४ बजे शपथ लिँदैछन्। शपथ ग्रहण कार्यक्रममा ७ वटा शंखबाट शंखनाद गर्ने तयारी छ। यस्तै १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन गर्ने र १०८ जना बौद्ध भिक्षुबाट शुभ मंगलपाठ गर्ने कार्यक्रम रहेको छ। त्यसपछि साइत हेराएरै उनी २:१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभारग्रहण गर्ने कार्यक्रम तय भएको छ।
बालेनले साइत हेराएर शपथ ग्रहणदेखि पदभारग्रहणसम्मका कार्यक्रम तय गरेपछि त्यसमा अर्थमन्त्री रामेश्वर खनालले त्यसमाथि अर्थमन्त्री रामेश्वर खनालले टिप्पणी गरेका छन्। उनले शपथ ग्रहण कार्यक्रम साइत देखाएर गर्ने विषय कत्ति पनि आफूलाई मन नपरेको बताएका छन्।
‘कसैलाई द्वेष गरेको हैन। यो साइत देखाएर सपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन,’ उनले भनेका छन्, ‘हामीलाई साइत हेर्ने, देखाउने छुट वा समय नै थिएन। तर, इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न भयो त!’
साइत भन्दा नियत र इमान्दारिता महत्त्वपूर्ण हुने उनको भनाइ छ।


