काठमाडौं। सरकारले पासपोर्ट र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) घरमै पुर्याउने व्यवस्था १०० दिनभित्र लागू गर्ने घोषणा गरेको छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्ययोजनामा यो विषय समावेश गरिएको हो।
उक्त योजनाअनुसार सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी “गभर्नमेन्ट कुरियर सर्भिस” का रूपमा विकास गरिनेछ।
यस सेवामार्फत पासपोर्ट, नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमतिपत्र लगायतका सरकारी कागजात तथा सामग्रीहरू सेवाग्राहीको घरमै पुर्याइने व्यवस्था गरिनेछ।
योजनामा नागरिकलाई छिटो, सहज र बिचौलियामुक्त सेवा प्रदान गर्दै पूर्वानुमानयोग्य समयभित्र सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ। साथै, सम्पूर्ण सेवा प्रक्रियालाई मुहारविहीन (फेसलेस), समयबद्ध र डिजिटल प्रणालीमा रूपान्तरण गर्ने लक्ष्य पनि राखिएको छ।


