काठमाडौँ: पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएन। उनीहरूको पक्राउविरुद्ध दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सोमबार दुई छुट्टाछुट्टै इजलासमा सुनुवाइ भएको थियो।
ओलीको तर्फबाट पत्नी राधिका शाक्यले दायर गरेको बन्दी रिटमा न्यायाधीश मेघराज पोखरेल र लेखकका तर्फबाट पत्नी यशोदा लेखकले दायर गरेको रिटमा न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको हो।
सर्वोच्चमा दायर भएका दुवै रिटमा सोमबार एकै प्रकृतिको आदेश भएको छ। ओलीको पक्राउविरुद्ध दायर बन्दी रिटमा भएको आदेशमा जरुरी पक्राउ पुर्जी जारी गर्नुपर्ने अवस्था रहे/नरहेको सोधिएको छ। आदेशमा भनिएको छ, ‘‘निवेदकलाई जरूरी पक्राउपूर्जि जारी गर्नुपर्ने उल्लिखित दफाको पूर्वावस्था रहे/नरहेको के हो ? जवाफ आउने गरी लिखितजवाफ पेस गर्न लगाउनू।’ यस्तै जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको प्रतिवेदन पेस गर्न पनि आदेश भएको छ।
यस्तै लेखको रिटमा पनि अदालतले कारण देखाउ आदेश जारी गर्दै प्रतिवेदन मगाएको छ। अब यी दुवै रिटलाई लगाउमा राखेर एकै इजलासमा सुनुवाइ हुने भएका छन्।
यसअघि आइतबार काठमाडौँ जिल्ला अदालतले दुवैलाई थुनामा राखी अनुसन्धान गर्न ५ दिनको म्याद थप गरिसकेको छ।


