काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई शुक्रबार साँझ सवा ५ बजे पद तथा गोपनीयताको शपथ दिलाउने भएका छन्। सवा ५ बजे प्रधानन्यायाधीश कार्कीलाई शपथ दिलाउने तयारी गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई अनुमोदन गरेपछि राष्ट्रपतिले शपथ दिलाउन लागेका हुन्। शुक्रबार मात्रै समितिले कार्कीलाई अनुमोदन गर्ने निर्णय गरेको थियो।
संसदीय समितिमा बुधबार पनि कार्कीसँग सांसदहरूको सवालजवाफ भएको थियो। सांसदहरूले सोधेका प्रश्नहरूमा कार्कीले अदालतले गरेको फैसलाका विषयमा टिप्पणी नगर्ने नभने पनि अध्येताहरूले व्याख्याविश्लेषण गर्न सक्ने उल्लेख गरिदिएका थिए। सांसदहरूले कुनै व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश गर्नु कति उपयुक्त हुने भन्ने विषयमा गरेको सवालमा कार्कीको यस्तो जवाफ थियो।
सर्वोच्च अदालतमा झन्डै ८ महिनादेखि प्रधानन्यायाधीशको पद रिक्त थियो। त्यसैबेलादेखि कायममुकायम प्रधानन्यायाधीश रहेका कार्की शुक्रबार न्यायपालिकाको सर्वोच्च पदका लागि शपथ लिन लागेका हुन्।
उनीविरुद्ध संसदीय समितिमा २९ उजुरी परेका थिए।
