काठमाडौँ: बढ्दो शहरीकरणसँगै राजधानी काठमाडौँमा विलासी जीवनशैलीप्रति आकर्षण बढ्दो छ। जग्गाको सीमित उपलब्धताका कारण पछिल्लो समय राजधानी काठमाडौँमा ‘अपार्टमेन्ट कल्चर’ विकसित हुँदै गएको छ। यसैकारण राजधानीमा लक्जरी अपार्टमेन्टमा निजी लगानी बढ्दै गएको छ।
यसैक्रममा कर्मा तेन्जिङको नेतृत्वमा रहेको गुडकर्मा ग्रुप अफ कम्पनीजले राजधानीको महाराजगञ्जमा कर्मा रेजिडेन्स बनाइरहेको छ। ग्रुप घरजग्गा (रियल इस्टेट) र आतिथ्य (हस्पिटालिटी) मा बलियो उपस्थिति जनाउँदै अर्बौंका रेसिडेन्स र हस्पिटालिटी परियोजना अगाडि बढाएको छ।
ग्रुपले राजधानीको कूटनीतिक क्षेत्र महाराजगञ्जमा सुविधासम्पन्न लक्जरी अपार्टमेन्ट ‘कर्मा रेजिडेन्सी’ निर्माण गरिरहेको छ। कम्पनीले कुल १६३ लक्जरी अपार्टमेन्ट बनाउने लक्ष्य लिएको छ। यसमध्ये पहिलो चरणमा ५६ युनिटको सेवायुक्त अपार्टमेन्ट परियोजना विकास गरिरहेको छ।
निर्माणाधीन अपार्टमेन्ट परियोजना आगामी मंसिर–पुसभित्र (डिसेम्बर २०२६) सम्पन्न गर्ने लक्ष्य राखिएको छ। संशोधित योजनाअनुसार, फेब्रुअरी २०२६ को मध्यसम्ममा सिभिल संरचनाको ८३ प्रतिशत काम पूरा भइसकेको छ।
अपार्टमेन्टको समग्र भौतिक प्रगति ५२ प्रतिशत रहेको विकासकर्ता कम्पनी गुडकर्मा हस्पिटालिटीले जनाएको छ। परियोजनाको लागत एक अर्ब ७५ करोड रुपैयाँ रहेको छ। यसअघि दुई अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो। पछि २५ करोड रुपैयाँ घटेको छ।
कुल लागतमा ७५ प्रतिशत ऋण र बाँकी २५ प्रतिशत संस्थापकको स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको छ। वरपर स्थापित होटलहरू र सेवा प्रदान गरिएका अपार्टमेन्टहरूको उपस्थितिले प्रतिस्पर्धात्मक दबाब बढाउने सम्भावना छ। जसले मूल्यय निर्धारण लचिलोपन, बसोबास स्तर र समग्र नाफामा असर पार्न सक्छ।
गुडकर्मा ग्रुपले किन्यो ठमेलको वैशाली होटल, दुई अर्ब ६७ करोड लगानीमा पाँचतारे होटल बनाउँदै
रेसिडेन्समा तीनवटा हाइराइज बिल्डङ हुने भएका छन्। २.५ र ३.५ बीएचके अपार्टमेन्ट बनिरहेका छन्। निर्माणाधीन अपार्टमेन्ट आगामी सन् २०२७ देखि हस्तान्तरण सुरु हुने कम्पनीले जनाएको छ।
महाराजगञ्ज क्षेत्रमा आठ लेनको रिङ रोड बनिरहेको प्रिमियम कुटनीतिक क्षेत्र हो। यस क्षेत्रको एक मात्र विलासी अपार्टमेन्ट भएकोले अमेरिका, अष्ट्रेलिया, थाईल्याण्ड र साउदी अरबका दूतावासका साथै प्रमुख दुतावाशहरू नजिक रहेकोले आवासीय माग बलियो हुने देखिएको छ।
गुडकर्मा समूहको रियल इस्टेट, शिक्षा र आतिथ्य क्षेत्रमा लगानी रहेको छ। ग्रुपको स्थापना सेप्टेम्बर २०२० मा भएको हो।
यस्तै गुडकर्माले राजधानीको ठमेलमा रहेको होटल वैशालीलाई खरिद गरी पाँच तारे बनाउने भएको छ। प्रस्तावित पाँचतारे होटल बनाउन दुई अर्ब ६७ करोड ७० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। जसमा २५ प्रतिशत स्वपुँजी (इक्विटी) र ७५ प्रतिशत बैंकको ऋण हुने गरी लगानी संरचना बनाइएको छ।
होटल हाल पुनर्निमाण प्रारम्भिक चरणमा रहेको मनाङ हस्पिटालिटी प्रालिले जनाएको छ। कम्पनीले आगामी २०२८ सम्ममा पूर्णरूपमा व्यावसायिक सञ्चालन गर्ने योजना बनाएको छ।
कम्पनीले ठमेलमा अवस्थित होटल वैशालीको अवस्थित सम्पत्तिलाई ‘फोर पोइन्ट्स बाइ शेराटान’ ब्रान्डअन्तर्गत पाँचतारे होटलमा अधिग्रहण र पुनर्निर्माण गर्ने योजना बनाएको हो। प्रस्तावित होटलमा १०८ वटा कोठा हुने बाताइएको छ।
साथै, परियोजनाले फोर पोइन्ट्स बाइ शेराटन ब्रान्डको ब्रान्ड नामअन्तर्गत सञ्चालन गर्न हङकङ लिमिटेडको लक्जरी होटल्स इन्टरनेशनलसँग होटल व्यवस्थापन सम्झौता सफलतापूर्वक अन्तिम रूप दिएको छ।


