काठमाडौँ: गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा करिब २ अर्ब ५६ करोड रुपैयाँभन्दा बढी बचत रकम हिनामिना गरेको आरोपमा अध्यक्ष इमानसिंह राईसहित ४ जना चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अध्यक्ष ६१ वर्षीय राईसहित प्रमुख कार्यकारी अधिकृत (सीईओ) लालबहादुर क्षेत्री, सीईओ अविन कुमार राई र पूर्व लेखा सदस्य कर्णबहादुर राई रहेका छन्।
उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता मनोहर भट्टले बताए। प्रहरीका अनुसार सहकारीमा १० हजार ५९८ बचतकर्ताको कुल ४ अर्ब ५ करोड ६० लाख ६८ हजार ४५८ रुपैयाँ बचत संकलन भएको थियो। त्यसमध्ये १ अर्ब ४९ करोड १६ लाख ३३ हजार ९२४ रुपैयाँ मात्र ऋण तथा लगानीमा प्रवाह भएको देखिएकोमा बाँकी रकममध्ये करिब २ अर्ब ५६ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको आरोप छ।
अनुसन्धानका क्रममा उक्त ऋण समेत कमसल धितोमा तथा कतिपय अवस्थामा बिना धितो नै प्रवाह गरिएको खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाइएको छ।


