काठमाडौँ- नेपालमा सरुवा रोग एमपक्सका संक्रमित भेटिएको पुष्टि भएको छ। नेपालमा रहेकी ६० वर्षीया विदेशी नागरिकमा एमपक्स संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
एमपक्स संक्रमित ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार उनी चिकित्सकको निगरानीमा छिन्। एमपक्सका विषयमा थप खोज अनुसन्धान तथा उपचारको कार्य जारी रहेको मन्त्रालयले जानकारी दिएको छ। नेपालमा पहिलो पटक एमपक्स पुष्टि भएको हो।
हालसम्म यो रोग १११ देशमा पुष्टि भइसकेको छ। एमपक्स रोग मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो। एमपक्स रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्दछ। सन् १९८० मा विफरको उन्मूलन र विश्वव्यापी विफर खोपको अन्त्य पछि मकीपक्स मध्य पूर्वी र पश्चिम अफ्रिकामा निरन्तर रूपमा देखा परिरहेको मन्त्रालयको भनाइ छ। सन् २०२२- २०२३ मा यसले विश्वव्यापी प्रकोपको रुप लिएको थियो। लोखर्के र बाँदरजस्ता साना स्तनपायी जनावरबाट यो रोग संक्रमण हुने गरेको पाइएको छ।
एमपक्स रोग संक्रमित व्यक्ति वा जनावरबाट संक्रमण हुने गर्छ। संक्रमितमा ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रथिहरू बढ्ने लगायतका लक्षण देखिन्छन्। यसका साथै आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यु समेत हुन सक्ने भन्दै मन्त्रालयले सचेत हुन आह्वान गरेको छ।
संक्रमित व्यक्ति वा पशुलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्न, संक्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न, नियमित रुपमा साबुनपानीले हात धुन वा स्यानीटाईजरको प्रयोग गर्न, संक्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरु तातो पानी, साबुन वा डीटर्जेन्टले धुन मन्त्रालयले सचेत गराएको छ। मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खान र फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्न पनि मन्त्रालयले सबैमा अनुरोध गरेको छ।



