काठमाडौँ: सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थुप्रै व्यवसायीमाथि छानबिन तयारी गरेको भन्ने हल्ला फैलिएपछि त्यसले सेयर बजारलाई पनि तरंगित बनाएको छ। सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पूर्वमन्त्री तथा व्यवसायी दीपक खड्का, व्यवसायी दीपक भट्ट, शंकर ग्रुपका शंकर अग्रवाल र सुलभ अग्रवाल लगायतलाई पक्राउ गरेपछि बजारमा नकारात्मक प्रभाव परेको हो ।
साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा ठूलो गिरावट आएको छ। कारोबार सुरु भएदेखिनै ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको हो।
आइतबार नेप्से परिसूचक १०५.५० अंक घटेर २६७६.६८ विन्दुमा झरेको छ। नेप्से परिसूचक लगभग ६ महिनापछि १०० अंकभन्दा बढीले घटेको हो। यसअघि गत असोज २ गते बिहीबार, नेप्से १०० अंकभन्दा बढी घटेको थियो। सो दिन नेप्से परिसूचक १६०.३३ अंक घटेको थियो। सोपश्चात आज १०० अंकभन्दा बढी घटेको हो। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १५.६२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ७.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.६६ अंक घटेको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ६.०९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जलविद्युत र विकास बैंक उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५८ करोड २८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको ४५ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम ४२ करोड रुपैयाँ नाघेको छ।
नेप्से घटे पनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार, ८ अर्ब ८१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको १ लाख ४१ हजार ३६ पटकको कारोबारमा १२ अर्ब ३८ करोड ९ लाख १४ हजार रुपैयाँबराबरको ३ करोड १२ लाख ६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, सप्तकोशी इनर्जी बैंक, प्योर इनर्जी र सान्भी इनर्जीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ। हालै आइपीओ जारी गरेका केही कम्पनीबाहेक अन्य सबैजसो कम्पनीका लगानीकर्ताले गुमाएका छन्।
यसदिन ६ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्डा हाइड्रो इलेक्ट्रिकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
बजारमा देखिएको यो उच्च गिरावटको मुख्य कारण सरकारले सम्पत्ति शुद्धीकरणको अनुसन्धानलाई तीव्र बनाउनु रहेको विश्लेषण गरिएको छ। पछिल्लो समय सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान प्रक्रिया अघि बढाउँदै केही ‘बिचौलिया’ हरूलाई समेत पक्राउ गर्न थालेपछि ठूला लगानीकर्ताहरू त्रसित बनेका छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धानमा अन्य व्यवसायी पनि तानिने हुन् कि भन्ने शंकाबीच लगानीकर्ताहरू आत्तिँदा बजार घटेको हुन सक्ने सरोकारवाला बताउँछन् ।
लगानीकर्ता देव गुरागाईंले पनि सम्पत्ति शुद्धीकरणको विषयमा सरकार सक्रिय हुँदा लगानीकर्तामा त्रास देखिएको बताए। उनका अनुसार, ‘नीतिगत व्यवस्था लागू गर्दा छोटो अवधिमा बजारमा प्रभाव पर्नु स्वाभाविक हो, तर बजार पुनः लयमा फर्किन्छ।’


