काठमाडौँ- नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाई विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकामध्ये १६ जनालाई पुर्पक्षका लागि कारागार पठाउन अदालतले आदेश गरेको छ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका एमाले नेता टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित १६ जनालाई पुर्पक्षका लागि कारागार पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश गरेको हो।
३० जनालाई विपक्षी बनाइएको यो पक्ररणमा प्रहरीले १८ जनालाई पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो। उनीहरूमध्ये लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको हो। यो प्रकरणमा संलग्न भएको आरोप लागेका १२ जना भने फरार छन्।
२०७९ चैत १२ मा गिरोहका नाइके केशव दुलाल‚ सानु भण्डारी र टंक गुरुङलाई पक्राउ गरेपछि प्रहरीले अदालतबाट म्याद थप गरेर अघि बढाएको थियो। अनुसन्धानका क्रममा रायमाझी र खाणसहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परे। रायमाझीका छोरा सन्दीप पनि पक्राउ परेका छन्।
कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पनि कारागार चलान भएका छन्। खाणका स्वकीय सचिव रहेका नरेन्द्र केसी पनि कारागार चलान भए।











