काठमाडौँ: सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध थप म्याद नगर्न आदेश जारी गरेको छ। सर्वोच्चले उनीहरूलाई हिरासतमा राख्नु गैरकानुनी नदेखिएको भन्दै पक्राउविरुद्ध परेका बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ।
न्यायाधीशद्धय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले, पछिल्लोपटक म्याद थप भएबमोजिम अनुसन्धान सक्न अन्यथा म्याद थप नगर्न आदेश जारी गरेको हो। उनीहरूविरुद्ध बुधबारसम्म म्याद थप भएकोमा यस आदेशसँगै अभियोजन नभएमा बिहीबार रिहा हुनेछन्।
आइतबारमात्रै काठमाडौं जिल्ला अदालतले ओली र लेखकलाई पाँच दिन हिरासतमै राख्न प्रहरीलाई अनुमति दिएको थियो।
उनीहरूलाई रिहाका लागि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको थियो।सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै अब म्याद नथप्न परमादेश जारी गरेको छ । उक्त रिटमा सोमबार बहस सकिएसँगै सर्वोच्चले बिहीबार रिहाको आदेश दिएको हो।
भदौ २३ को जेनजी आन्दोलनमा १९ जनाको ज्यान जानेगरी बल प्रयोग भएको र त्यसलाई रोक्न प्रयास नभएको आरोपमा १४ चैतमा ओली र लेखक पक्राउ परेका थिए । प्रहरीले ज्यान मुद्दाको कसुरमा उनीहरूलाई जिल्ला अदालत काठमाडौंको अनुमतिमा थुनामा राख्दै आएको छ ।


