काठमाडौं– नक्कली शरणार्थी प्रकरणमा दोषी पाइएपछि जिल्ला अदालत काठमाडौंले प्रहरी नियन्त्रणमा रहेका १८ मध्ये १६ जनालाई काराबासको फैसला सुनाएको छ। शुक्रबार जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले एमाले नेता पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १६ जनाको हकमा थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको हो।
अदालतले प्रकरणमा डामिएकामध्ये टंक गुरुङलाई १० लाख, लक्ष्मी महर्जनलाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको छ। सरकारी वकिलले नक्कली शरणार्थी धन्या चलाएहरू राज्यविरुद्धको कसुरमा दोषी रहेकाले उनीहरूले बाहिर बसेर प्रमाण नष्ट गर्न सक्ने आशंकामा थुनामै राख्न माग गरेका थिए।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भनी विभिन्न व्यक्तिलाई ठगी गरेको प्रकरणमा रायमाझी, खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीका नेता टेकनाथ रिजालसहित ३० जनालाई मुद्दा लगाएको थियो। उनीहरूविरुद्ध १० जेठ २०८० मा सरकारी वकिलको कार्यालयले ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराधको कसूरको मुद्दा दर्ता गराएको थियो। यो प्रकरणमा एक सय १३ जनाले साढे २७ करोड ठगी भएको भनी प्रहरीमा २२ वटा जाहेरी दिएका थिए।
ठगी प्रकरणमा प्रहरी नियन्त्रणमा रहेका सांसद टोपबहादुर रायमाझीको पद तत्काल निलम्बन हुनेछ। काठमाडौं जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि कारागार पठाउने आदेश जारी गरेसँगै रायमाझी सांसदबाट निलम्बित भएका हुन्। प्रतिनिधिसभा नियमावलीमा कुनै न्यायिक हिरासतमा रहेमा सांसद पद निलम्बन हुने प्रावधान छ। सभामुखले रायमाझी निलम्बनमा परेको सूचना संसदलाई सुनाएसँगै उनी औपचारिक रूपमा निलम्बनमा पर्नेछन्।
रायमाझीले निलम्बनमा परेको अवधिको सेवा तथा सुविधा पाउने छैनन् भने अदालतबाट यो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनले सांसदको हैसियतमा कुनै गतिविधि गर्ने पाउने छैनन्। ४ मंसिरको निर्वाचनमा रायमाझी अर्घाखाँचीबाट निर्वाचित भएका हुन्। एमाले उपसचिवसमेत रहेका रायमाझीलाई पार्टीले कारबाही गरिसकेको छ।
कांग्रेसमा बालकृष्ण कुनै राजकीय पदमा नभए पनि केन्द्रीय सदस्य रहेकाले उनलाई निलम्बन गर्नुपर्ने माग बाक्लिँदो छ। सभापति शेरबहादुर देउवा निकट भएकैले खाणमाथि कारबाही नगरिएको संस्थापन इतरका नेताहरुको दाबी छ। हुन पनि देउवाले खाण पक्राउ पर्नुअघि (१० जेठ) मा धुम्बाराहीमा खाणले नक्कली शरणार्थी धन्धा चलाएर बदमासी गरेको आफूलाई नलागेको बताएका थिए।
यतिबेला देउवा सिंगापुर उपचारमा छन्। यसबारे कांग्रेसले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन। रुपन्देहीबाट निर्वाचनमा उठेका खाणलाई भने राप्रापका उम्मेदवार दीपक बोहराले हराएका थिए। कांग्रेसभित्र खाणलाई स्पेस दिँदा पार्टी आलोचनामा परेको गुनासो नेता, कार्यकर्ताबाट सुनिइँदै आएको छ।


