काठमाडौँ: जलविद्युत क्षेत्रका व्यवसायी बटु लामिछाने ले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ महाधिवेशनका लागि केन्द्रीय कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनले बिहीबार महासंघको केन्द्रीय कार्यालयमा पुगेर एसोसिएट समूहबाट उम्मेदवारी दिएका हुन्। महासंघको महाधिवेशन यही चैत २९ र ३० गते हुने कार्यक्रम छ।
लामिछानेले सरकारी सेवा र बैंकिङ क्षेत्रबाट करियर सुरु गरी २०४२ सालदेखि निजी व्यवसायमा प्रवेश गरेका हुन्। प्रारम्भमा कार्पेट व्यवसायबाट सुरु गरेका उनले पछि निर्माण क्षेत्रमा सक्रियता बढाउँदै जलविद्युत क्षेत्रमा प्रवेश गरेका थिए। इन्द्रावती (७.५ मेगावाट) आयोजना मार्फत सुरु भएको उनको जलविद्युत यात्रा अहिले विभिन्न आयोजनामा विस्तार भएको छ।
हाल उनी व्यवसायी गणेश कार्की सँग मिलेर ‘बीजी ग्रुप’ मार्फत २०० मेगावाटभन्दा बढी क्षमताका आयोजना निर्माणमा संलग्न छन्। साथै, उनले पर्यटन, सूचना प्रविधि र कृषि क्षेत्रमा समेत लगानी विस्तार गरेका छन्।
आफ्नो अनुभवलाई संस्थागत रूपमा प्रयोग गर्दै निजी क्षेत्रको सशक्तीकरण र युवा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले उम्मेदवारी दिएको उनले बताएका छन्।


