काठमाडौं। अमेरिका, इजरायल र इरानबीच जारी युद्धले हाल मध्यपूर्व अशान्त बनेको छ। जारी युद्धले पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या आएपछि विश्वभरी नै कच्चा तेलको भाउ आकासिएको छ।
भाउ निरन्तर बढ्दै गएकाले तेल सर्वसाधारणको पंहुच बाहिर पुग्ने अवस्था आएको छ।नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।
निगमले शुक्रबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य भाउ भारी बढाएको छ।
निगमले पेट्रोलको भाउ प्रतिलिटर १७, डिजेल र मट्टीतेलको २५ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य बढाइएको छ। त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ ६ रुपैयाँ बढेको निगमले जनाएको छ।
निगमका अनुसार समायोजना भएको नयाँ भाउअनुसार पेट्रोल पहिलो वर्गमा २१६.५०, दोस्रो वर्गमा २१८ र तेस्रो वर्गमा २१९ रुपैयाँ पुगेको छ। डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा २०४.५०, दोस्रो वर्गमा २०६ र तेस्रो वर्गमा प्रतिलिटर २०७ रुपैयाँ पुगेको छ।
पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गर्दा पनि पाक्षिक रुपमा सात अर्ब ८१ करोड रुपैयाँ घाटा हुने निगमले जानकारी दिएको छ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो, काठमाडौं, पोखरा र दिपायललाई तेस्रो वर्गमा राखेर तेलको भाउ निर्धारण गर्दै आएको छ।
त्यस्तै, खाना पकाउने ग्यासको मूल्य दुई हजार १० रुपैयाँ १४.२ किलो, एक हजार पाँच ९७.१ किलो पुगेको छ। हवाई इन्धन आन्तरिकतर्फ २५७ रुपैयाँ पुगेको निगमले जानकारी दिएको छ।
उल्लेखित तालिकाअनुसार भन्सार महसुल र पूर्वाधार विकास कर समायोजन पश्चात पाक्षिक १० अर्ब २१ करोड ९१ लाख अझै घाटा हुने अवस्था रहेपछि भाउ बढाएको निगमले जानकारी दिएको छ।
हालको अवस्थामा निगमलाई पेट्रोलमा प्रति लिटर १६.६५, डिजेलमा प्रति लिटर १०९.५० तथा एलपी ग्यासमा प्रति सिलिण्डर ४१६.३७ रुपैयाँ घाटा रहेको छ। भाउ नबढाउँदा निगमलाई पाक्षिक रुपमा कुल जम्मा १० अर्ब २१ करोड ९१ लाख रुपैयाँ घाटा हुने दाबी निगमको छ।
निगमलाई घाटा निरन्तर भईरहेमा इण्डियन आयल कर्पोरेशन (आइओसी)लाई दिने भुक्तानीमासमेत असर पर्न जाने र आपूर्ति व्यवस्थापनमा असहजता सृजना हुने भएकाले हाललाई लागत मूल्यअनुसार वृद्धि नगरेको जानकारी दिएको छ।
अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्य वृद्धिका कारण उत्पन्न भएको विषम परिस्थितिप्रति निगम सबै उपभोक्ता एवं सरोकारवालाहरूसँग सहयोगको लागि आह्वान गर्दै पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययीता अपनाईदिनुहुन अनुरोध गरेको छ।
सरकारले नागरिकलाई राहत दिन तेल आयातमा भन्सार शुल्क आधा घटाएको छ।
अमेरिका इरानबीच १५ दिनका लागि अस्थायी युद्धविराम भए पनि होमुर्ज जलमार्गमा अझै इरानको अवरोधले गर्दा कच्चा तेल आपूर्तिमा समस्या आएको छ।


