इलाम: सूर्योदय नगरपालिकाले चियाको न्यूनतम समर्थन मूल्य हटाउने निर्णय गरेको छ। ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा उद्योगले किसानलाई चियाको न्यूनतम मूल्य प्रतिकिलो रु ४० दिनुपर्ने र किसानले ४० प्रतिशत मुनाको चिया मात्र टिप्नुपर्ने मापदण्ड थियो।
तर अधिकांश किसान र उद्योगीले खुला बजारको माग गरेपछि नगरपालिकाको १८औँ नगर सभाको तेस्रो बैठकले उक्त ऐन संशोधन गरेको कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालले बताए। नगरप्रमुख बरालले सभाले झन्झटिला र नागरिकलाई असहज हुने विभिन्न सात ऐन संशोधन गरेको बताए।
‘नगरको विनियोजन ऐन २०८२, आर्थिक ऐन २०८२, आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७६, स्वास्थ्य ऐन २०७८, सवारी तथा यातायात व्यवस्थापन ऐन २०७६, नगर प्रहरी ऐन २०७६ र सहकारी ऐन २०७५ संशोधन विधेयक पारित भएको छ,’ नगर प्रमुख बरालले भने।
नगरपालिका क्षेत्रमा ६३ साना–ठूला चिया उद्योग रहेका छन्। पालिकाले चियाको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ। प्रमुख बरालले भने, ‘चिया रोपणदेखि टिप्नेसम्म र अग्र्यानीकरणसम्म हामीले ध्यान दिने हो, बजारीकरण र मूल्य निर्धारण सङ्घीय सरकारले गर्नुपर्छ।’
नगरले यसपटक चिया क्षेत्रका समस्या समाधान गर्न १४ वटै वडाबाट किसान र उद्योगीका सुझाव लिएको थियो। साथै, नगरले चिया ऐन संशोधनका लागि स्थानीयसँग ‘अनलाइन’मार्फत पनि सुझाव माग गरेको थियो। यहाँ चिया क्षेत्रका समस्या समाधान गर्न चिया शाखा सञ्चालन गरिने भएको छ।
नगरले यसअघि निर्माण गरेको आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७६ लाई परिमार्जन गरी संघीय कानुनअनुसार सञ्चालन हुने व्यवस्था गरेको छ। सवारी तथा यातायात व्यवस्थापन ऐन २०७६ संशोधन गरी तीन पाङ्ग्रे सवारी साधन सञ्चालनमा सहजता ल्याइएको छ। सहकारी ऐन २०७५ लाई पनि संशोधन गरी सङ्घीय कानुनअनुसार हुनेगरी पारित गरिएको पालिकाका प्रवक्ता ख्याम भुजेलले जानकारी दिए।


