काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री शाहसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो।
भ्रष्टाचार निवारण ऐन २०५९ को प्रावाधानअनुसार सरकारले मन्त्रिपरिषद् सदस्यका सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेको छ।
कसको सम्पत्ति कति?
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालबाट एक करोडभन्दा बढी आर्जन गरेको विवरण पेस गरेका छन्।मन्त्रिपरिषद्मा पेस सम्पत्ति विवरणअनुसार उनले फेसबुक, युट्युब, टीकटक, स्पोटिफाइ र आईट्युन्सबाट उक्त आर्जन गरेको उल्लेख गरेका छन्।
उनले श्रीमतीसँग १९० तोला बराबर सुन चाँदी रहेको विवरणमा उल्लेख गरेका छन्।
यस्तै उनको महोत्तरीमा पैतृक सम्पत्तिअन्तर्गत नौ बिघा जग्गा रहेको छ भने काठमाडौंमा ५ आना र धनुषामा एक बिघा जग्गा छ।
यस्तै दोस्रो वरियतामा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दुईवटा अपार्टमेन्ट, ४५ तोला सुन र एक करोड ९० लाख नगद मौज्दात रहेको विवरण पेस गरेका छन्। उनले चार करोड ९० लाख रुपैयाँ सेयरमा लगानी गरेको विवरण उपलब्ध गराएका छन्।
उनले सानिमा मिडल तमोर हाइड्रोपावरमा संस्थापक सेयर ७१ हजार ९३ कित्ता, सांग्रिला विकास बैंकमा पनि संस्थापक सेयर २५ हजार ७६२ कित्ता रहेको खुलाएका छन् ।
यस्तै नेसनल फन्ड म्यानेजमेन्ट लिमिटेडमा ९० लाख रुपैयाँ, ठूलो खोलामा ६० लाख, अपर मादी हाइड्रोमा ३ करोड रुपैयाँ रहेको पनि उल्लेख गरेका छन्। उनले आफूसँग ९४ लाख रुपैयाँको गाडी रहेको जानकारी गराएका छन्।
उनले ग्लोबल आइएमई बैंकबाट १ करोड ५ लाख, व्यक्तिगत सापटी २ करोड ५० लाख रुपैयाँ ऋण रहेको उल्लेख गरेका छन् । उनले राष्ट्रिय वाणिज्य बैंकबाट ३८ र स्ट्याण्डर्ड चार्टड बैंकबाट ७५ लाख रुपैयाँ ऋण लिएर पनि तिरिसकेको उल्लेख गरेका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालले नौ लाख १३ हजार ८४ रूपैयाँ नगद रहेको विवरण उपलब्ध गराएका छन्। उनले ८ वटा विभिन्न कम्पनीमा सेयर रहेको विवरण खुलाएका छन्। सुन २२ तोला र चाँदी २३ तोला रहेको विवरणमा उल्लेख छ। श्रीमतीको नाममा १४ कम्पनीमा सेयर रहेको छ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले सुन १५ तोला र चाँदी ५० तोला रहेको विवरण पेस गरेका छन्। यस्तै चार आना पैतृक जग्गा रहेको विवरणमा उल्लेख छ। यस्तै उनले सेयरमा एक करोड ४५ लाख ४८ हजार रुपैयाँ लगानी रहेको विवरण पेस गरेका छन्।
गृहमन्त्री सुधन गरुङले १९ रोपनी जग्गा रहेको विवरण पेस गरेका छन्। भरतपुरमा २० कठ्ठा र गोरखा चुमनुव्रीमा २२१ रोपनी पैतृक जग्गा रहेको विवरण खुलाएका छन्।
उनले सुन ८९ तोला र चाँदी ६ किलो रहेको उल्लेख गरेका छन्। उनले करिब ६२ लाख रूपैयाँ नगद मौज्दात रहेको उल्लेख गरेका छन्। उनले विभिन्न चारवटा कम्पनीमा सेयर रहेको उल्लेख गरेका छन्।
यस्तै, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले खेत र बारी गरी ३० रोपनी पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन्। ११ कठ्ठा २५ धुर जमिन रहेको उनको विवरणमा उल्लेख छ। ३० तोला सुन र ५० तोला चाँदी रहेको छ। विभिन्न बैंकमा ९० लाख रूपैयाँ मौज्दात रहेको उनले विवरणमा उल्लेख गरेका छन्।
कानुनमन्त्री सोबिता गौतमले १५ तोला सुन, नौ तोला चाँदी र एक तोला हिरा रहेको विवरण उपलब्ध गराएकी छिन्। नगद १० लाख ५० हजार ३३५ रूपैयाँ मौज्दात रहेको उनको विवरण छ।
मन्त्री सीता बादीले १८ तोला सुन र १५ तोला चाँदी रहेको विवरण उल्लेख गरेकी छिन्। विभिन्न स्थानमा पैतृक जग्गा रहेको उनको विवरण छ। १५ लाख नगद रहेको विवरण उनले पेस गरेकी छिन्।
संघीय मामिला मन्त्री प्रतिभा रावलले पाँच आना १० धुर जग्गा रहेको विवरण पेस गरेकी छिन्। सुन २५ तोला रहेको उनको विवरणमा उल्लेख छ। पाँच लाख नगद रहेको विवरण उनले पेस गरेकी छिन्।
खानेपानी मन्त्री सीता मेहताले काठमाडौंमा सात आना र महोत्तरीमा १० बिघा जग्गा रहेको खुलाएकी छिन्। सुन ३० तोला, चाँदी ५० तोला र एउटा हिराको औँठी रहेको विवरण समावेश छ। करिब १७ लाख नगद रहेको उनको विवरणमा खुलेको छ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यका लगायत अन्य स्थानमा करिब २२ करोड बराबरको पैतृक जग्गा रहेको खुलाएका छन्। यस्तै, सुन २५ तोला र चाँदी सय तोला रहेको उनको विवरणमा उल्लेख छ। करिब पाँच लाख मौज्दात रहेको उनको विवरण छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले ११ तोला सुन र पाँच तोला चाँदी रहेको विवरण उल्लेख गरेका छन्। यस्तै विभिन्न स्थानमा जग्गा रहेको उनको विवरण छ। करिब २५ लाख नगद रहेको उनले उल्लेख गरेका छन्।
सञ्चार तथा सूचना मन्त्री विक्रम तिम्लसिनाले नागार्जुनमा जग्गा रहेको विवरण उल्लेख गरेका छन्। करिब तीन तोला सुन र चाँदी १० तोला रहेको विवरण उल्लेख गरेका छन्। उनले १० लाख २५ हजार नगद रहेको खुलाएका छन्।
यस्तै, कृषिमन्त्री गीता चौधरीले राजापुर र सैनामैनामा जग्गा रहेको विवरण उपलब्ध गराएकी छिन््। सुन पाँच तोला र चाँदी सय तोला रहेको उनको विवरण छ।
एक लाख ३० हजार नगद रहेको उनको विवरण छ। उद्योग वाणिज्य मन्त्री गौरीकुमारी यादवले काठमाडौंमा २५ आना र महोत्तरीमा २९ कठ्ठा जग्गा रहेको उल्लेख गरेकी छिन्।
सुन १८० तोला र चाँदी २ किलो रहेको उनको विवरण छ। मन्त्री रामजी यादवले राजविराजमा ११ कठ्ठा १३ धुर जमिन रहेको उल्लेख गरेका छन्। ८० तोला सुन र १५० तोला चाँदी रहेको उनले जानकारी दिएका छन्।


