काठमाडौँः प्रभु बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको छ। बैंकको चैत २७ गते बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो।
बैंकले ८.५० प्रतिशत लाभांश दर प्रस्ताव गर्दै नाफा भएको वर्षमा मात्र लाभांश वितरण गर्ने शर्तसहित प्रतिशेयर १०० रुपैयाँ दरका ५ करोड कित्ता, अर्थात् कुल ५ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने योजना बनाएको छ। यो सेयर व्यक्तिगत तवर (प्राइभेट प्लेसमेन्ट) मार्फत संस्थागत लगानीकर्ताहरूलाई मात्र बिक्री गरिनेछ।
अब उक्त प्रस्ताव बैंकको विशेष साधारणसभाबाट पारित हुनुपर्नेछ। साथै, नेपाल राष्ट्र बैंक लगायतका नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त भएपछि मात्रै सेयर निष्कासन प्रक्रिया अघि बढ्नेछ।


