काठमाडौँ: गण्डकी प्रदेशका नवनियुक्त ८ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यसअघिका पुराना सबै मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख भट्टले नयाँ मन्त्रीहरू नियुक्त गरेका हुन्।
मुख्यमन्त्री पाण्डेले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपाली, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नन्दप्रसाद न्यौपाने, आर्थिक मामिला मन्त्री जित बहादुर शेरचनलाई नियुक्त गरेका हुन्।
यस्तै कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री भीम बहादुर कार्की, उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डे, तथा वन तथा वातावरण मन्त्री नम्डु गुरुङ नियुक्त भएका छन्।


