काठमाडौँ: सरकारले ६२/६३ पछिका सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने सरकारको निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गर्ने निर्णय गरेको हो। उक्त आयोगले सार्वजनिक पद धारणा गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरणको संकलन, प्रमाणिकरण र जाँचबुझ गर्नेछ।
आयोगमा पूर्वन्यायाधीशहरू पुरुषोत्तम पराजुली र चण्डीराज ढकाल, पूर्व प्रहरी नायव निरीक्षक गणेश केसी र चार्टर्ड अकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेका छन्।
हाललाई ६२/६३ पछिको सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति विवरण छानबिन गर्न लागिएकोमा दोस्रो चरणमा ४६ सालदेखि सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति पनि छानबिन गरिने पोखरेलले बताए।


