काठमाडौँ: अब वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन विद्यार्थीहरूले कार्यालय धाउनु पर्ने झन्झट धेरै हदसम्म हट्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत सानोठिमीस्थित एनओसी शाखाले सेवा प्रणालीलाई पूर्ण रूपमा अनलाइनमा रूपान्तरण गर्दै ‘फेसलेस’ सेवा सुरु गरेको छ।
नयाँ व्यवस्थाअनुसार विद्यार्थीहरूले घरमै बसेर एनओसीका लागि आवेदन दिन सक्नेछन्। प्रक्रिया पूरा भएपछि प्रमाणपत्र अनलाइनबाटै डाउनलोड गरी प्रिन्ट गर्न मिल्ने व्यवस्था गरिएको छ। यस प्रणालीलाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) र काठमाडौं विश्वविद्यालय (केयू) सँग एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) मार्फत जोडिएको मन्त्रालयले जनाएको छ। त्रिविसँग वैशाख ४ गते सहमति भएको हो भने केयूसँग यसअघि नै सहकार्य सुरु भइसकेको छ।
प्रणालीलाई गृह मन्त्रालयको नागरिकता विवरण प्रणालीसँग समेत जोडिएको छ। यसले आवेदकको नागरिकता र राष्ट्रिय परीक्षा बोर्डको शैक्षिक विवरण स्वतः प्रमाणीकरण गर्न सहयोग पुर्याउनेछ। यसका कारण अधिकांश अवस्थामा विद्यार्थीहरूलाई कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।
यद्यपि, स्नातकोत्तर वा सोभन्दा माथिल्लो तहमा अध्ययनका लागि आवेदन दिनेहरूले सम्बन्धित विश्वविद्यालयका प्रमाणपत्र अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ। साथै, त्रिवि र केयूको प्रणालीसँग पूर्ण रूपमा डेटा आदानप्रदान भइनसकेको अवस्थामा केही आवेदनमा कागजात प्रमाणीकरणका लागि कार्यालय जानुपर्ने सम्भावना भने कायमै छ।
राजस्व भुक्तानीलाई पनि पूर्ण रूपमा डिजिटल बनाइएको छ। महालेखा नियन्त्रक कार्यालयको ‘रेभिन्यू इन्फरमेशन क्यासलेस म्यानेजमेन्ट सिस्टम’ सँग एकीकृत भएपछि एनओसी शुल्क अनलाइनबाटै तिर्न सकिनेछ। स्वीकृत एनओसी प्रमाणपत्र आवेदकको व्यक्तिगत प्रोफाइलबाट डाउनलोड गर्न सकिनेछ। साथै, प्रमाणपत्रमा रहेको क्यूआर कोड स्क्यान गरेर यसको वैधता जाँच गर्न सकिने सुविधा पनि थपिएको छ।


