काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन्।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौँबाट पक्राउ गरेको हो। नक्साल क्षेत्रबाट गोल्छालाई पक्राउ गरिएको सीआईबी प्रमुख मनोज केसीले जानकारी दिए।
गोल्छा ग्रुपअन्तर्गत हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपालमै गाडीका लागि आवश्यक मोबिल (लुब्रिकेन्ट) उत्पादन थालेको दिन उनलाई पक्राउ गरेको छ।
उनको कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले इन्डियन आयल कर्पोरेशन (आईओसी) लिमिटेडको सहायक कम्पनी इन्डियन आयल माउरिसस लिमिटेडसँग संयुक्त लगानीमा नेपालमा सर्भो लुब्रिकेन्ट उत्पादन सुरु गरेको छ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा पक्राउ परेर अनुसन्धानका लागि हिरासतमा रहेका विवादित व्यवसायी दीपक भट्टसँग उनको कनेक्सन देखिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तयार गरेको अनुसन्धान प्रतिवेदनले भट्ट सेयर बजारमा कृत्रिम कारोबार गरी मूल्यमा अस्वाभाविक चलखेलमा संलग्न रहेकोमा उक्त कसुर गर्न गोल्छा र रमेश कर्पका सञ्चालक रोहित गुप्तासहितले कसुर गर्न सहयोग गरेको ठहर गरेको छ।
सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा बोर्डले दीपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ गर्न बनेको समितिले धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रालिले भट्टबाट धितोपत्र खरिद गरेको कुनै पनि रकम नलिने गरेको निष्कर्ष निकालेको छ।
भट्टसँग सम्बन्धित विभिन्न कम्पनी र ती कम्पनीका सञ्चालकहरूलाई दिनुपर्ने रकम नदिइ त्यस रकमबाट नै धितोपत्रको राफसाफ तथा फछ्र्यौट गर्ने गरेको प्रतिवेदनमा भनिएको छ।
भट्टले कुनै पनि रकम भुक्तानी नगर्ने कार्यबाट रकमको लेनदेनबिना नै उधारोमा सेयर कारोबार गरी सेयरको मूल्य वृद्धि भएको हुन सक्ने र यसबाट धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ बमोजिमको कसूर भएको हुनसक्ने देखिएको ठहर सेबोनले गरेको छ।
अनुसन्धानका क्रममा भट्टले आफ्नो ४.५ प्रतिशत सेयर स्वामित्व भएको इन्फिनिटी होल्डिङ्गबाट सन् २०२५ नोभेम्बर ९ मा प्रतिकित्ता एक हजार ८० रुपैयाँमा सेयर खरिद गरी नोभेम्बर १६ मा १५ प्रतिशत सेयर स्वामित्व रहेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीलाई प्रति कित्ता ११ सय ६० देखि एक हजार १८२ सम्ममा तथा हिमालयन रिइन्स्योरेन्स लिमिटेडअन्तर्गत स्वामित्वमा रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी प्रतिकित्ता एक हजार १८५ रुपैयाँमा बिक्री गरेको भेटिएको हो।
सेयर बजारमा कृत्रिम कारोबार: दीपक भट्ट मुख्य दोषी, शेखर गोल्छा र रोहित गुप्तालगायत सहयोगी
प्रतिवेदनमा भट्ट र उनका साझेदारहरू मिलेर सेयर कारोबार गर्न संयुक्त रकम जम्मा गर्ने गरेको र त्यसपछि अधिकांश आफ्नै लगानी रहेका कम्पनीहरूमार्फत मिलेमतोमा विभिन्न कम्पनीको सेयर खरिदबिक्री गरी कृत्रिम मूल्य बढाउने कार्य गरेको भेटिएको भनिएको छ।
यसरी उनीहरूले कम्पनीमा रहेको सेयर सस्तोमा किन्ने र महँगोमा आफ्नै लगानी रहेका अन्य कम्पनीलाई बेच्न गरेको भेटिएको हो।
उक्त कार्यमा महासंघका पूर्वअध्यक्ष गोल्छाले रकम भुक्तानी नै नगरी साढे ५२ करोड रुपैयाँको सेयर खरिद तथा राफसाप गरी कसुर गर्न सहयोग गरेको निष्कर्ष सेबोनको छ। गोल्छाबाट सो बराबरको रकम भृकुटी स्टक ब्रोकिङ्गले रकम लिन बाँकी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
भृकुटी स्टक ब्रोकरको रकम लिई उक्त ब्रोकरको धितोपत्र राफसाप गर्न गोल्छाले २०२५ जुलाई २० मा १० करोड, जुलाई २१ मा थप १० करोड, जुलाई २३ मा २० करोड, जुलाई २५ मा १० करोड र अगस्ट ८ मा २ करोड ५० लाख जम्मा गरेको देखिएको छ।
हिमालयन रिइन्स्योरेन्समा गोल्छा २०८२ फागुन २५ गतेसम्म अध्यक्ष रहेका थिए। हिमालयन रिको सेयर कारोबार विवादमा आएपछि उनले अध्यक्षबाट राजीनामा गरेका थिए।


