काठमाडौं। यो साता लगानीकर्तालाई सेयर बजारले खुशी बनाएन्। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा निराशाजनक प्रवृत्ति देखियो।
साताभरि परिसूचक लगातार घट्दा लगानीकर्तामा मनोवैज्ञानिक दबाब बढेको छ। यद्यपि, दोस्रो बजार कमजोर देखिए पनि प्राथमिक बजार र नीतिगत क्षेत्रमा केही महत्वपूर्ण गतिविधि भने अघि बढेका छन्।
साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक १३.१७ अंकले घटेर २ हजार ८२५ विन्दुमा झरेको थियो। उक्त दिन ५ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
बजारमा ६५ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको घटेको थियो भने ६ कम्पनी स्थिर रहेका थिए। यसले बजारमा बिक्री दबाब उच्च रहेको संकेत दिएको थियो।
मंगलबार पनि बजारमा गिरावट कायम रहँदै नेप्से १७.९१ अंकले घटेर २ हजार ८०७.३१ विन्दुमा पुगेको थियो। यस दिन ४८ कम्पनीको मूल्य बढ्दा २१५ कम्पनीको घटेको थियो भने ६ कम्पनी स्थिर रहेका थिए।
कुल ९५ हजार ८ सय पटकको कारोबारमा १ करोड ३० लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।
साताको तेस्रो कारोबार दिन बुधबार नेप्से सूचक झिनो २.९५ अंकले घटेर २ हजार ८०४.१७ विन्दुमा बन्द भएको थियो। यद्यपि, कारोबार रकम भने साता कै उच्च रह्यो।
यस दिन १ करोड ७५ लाख ८८ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ७ अर्ब ८१ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। १२१ कम्पनीको सेयर मूल्य बढ्दा १३८ कम्पनीको घटेको थियो भने १० कम्पनी स्थिर रहेका थिए।
बिहीबार पुनः बजारमा तीव्र दबाब देखियो। नेप्से १७.०१ अंकले घटेर २ हजार ७८७ विन्दुमा झर्यो। यस दिन ३४८ कम्पनीको कारोबार भएकोमा ४६ कम्पनीको मूल्य बढ्दा २१६ कम्पनीको घटेको थियो।
१ करोड १३ लाख ७५ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
साताको अन्तिम कारोबार दिन शुक्रबार भने बजारमा झिनो सुधार देखियो। नेप्से सूचक १.५४ अंक बढेर २७ सय ८८ विन्दुमा पुगेको छ।
लगातार चार दिनसम्म घटिरहेको बजारमा यस दिन सुधार आउनुले केही सकारात्मक संकेत दिएको छ। कारोबार रकम पनि बढेर ५ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। ८७ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको घटेको थियो भने १४ कम्पनी स्थिर रहेका थिए।
यस साता प्राथमिक बजारतर्फ पनि उल्लेखनीय गतिविधि देखिएको छ। कालिन्चोक हाइड्रोपावर लिमिटेड र एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेका आईपीओको बाँडफाँड सम्पन्न गरेका छन्।
कालिन्चोक हाइड्रोपावरले वैशाख ७ गते ६ लाख ८४ हजार ७५० कित्ता सेयर बाँडफाँड गरेको थियो। यसमा २७ लाख ८४ हजार ५१९ जनाको आवेदन परेकोमा २६ लाख ३५ हजार ६३४ जनाको आवेदन मात्र योग्य भएको थियो। मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड गर्दा ६८ हजार ४७५ जनाले मात्र १०–१० कित्ता सेयर पाएका थिए।
त्यसैगरी, एपोलो हाइड्रोपावरले ७ लाख ८० हजार २०० कित्ता आईपीओ निष्काशन गरेको थियो। यसमा २७ लाख ७१ हजार १८ जनाको आवेदन परेकोमा २७ लाख २७ हजार ११७ जनाको आवेदन स्वीकृत भएको थियो।
गोलाप्रथाबाट बाँडफाँड गर्दा ७८ हजार २० जनाले मात्र १०–१० कित्ता सेयर प्राप्त गरेका छन् भने अधिकांश आवेदकको हात खाली भएको छ।
यस साता संस्थागत तहमा पनि ठुला निर्णयहरू भएका छन्। नेप्सेले प्रवीण पन्दाक लाई सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को प्रबन्ध निर्देशक पदबाट हटाउँदै पुनः नेप्सेमै फिर्ता बोलाउने निर्णय गरेको छ।
सीडीएससी नेप्सेको सहायक कम्पनी हो। जसले धितोपत्र अभिलेखीकरण तथा सेटलमेन्टसम्बन्धी कार्य गर्दै आएको छ।
त्यस्तै, सरकारले नेपाल धितोपत्र बोर्ड को रिक्त अध्यक्ष पद पूर्तिका लागि प्रक्रिया अघि बढाएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट को संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ। यसअघि अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएपछि उक्त पद खाली रहेको थियो।
यसैबीच, बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने कम्पनीहरूको संख्या बढेर ७ पुगेको छ। पछिल्लो पटक यती ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगमले यस विधिमार्फत सेयर निष्काशनका लागि सम्झौता गरेका छन्।
यसअघि नर्भिक इन्टरनेसनल हस्पिटल, जगदम्बा स्पिनिङ मिल्स, टाइम फर्मास्युटिकल्स, लक्ष्मी स्टिल्स र पूर्वाञ्चल ल्युब आयलले पनि यस्तो प्रक्रिया अघि बढाइसकेका छन्।
समग्रमा, यस साता दोस्रो बजारमा निरन्तर गिरावट देखिए पनि प्राथमिक बजारमा आकर्षण कायम रहेको छ। साथै, नीतिगत र संरचनात्मक सुधारका संकेतहरूले आगामी दिनमा बजारमा स्थायित्व आउने अपेक्षा गर्न सकिन्छ।


