काठमाडौं। नेपाल विद्युत प्राधिकरणले बनाउन लागेको ‘इलेक्ट्रिसिटी ट्रान्समिसन एन्ड डिष्ट्रिव्युसन स्ट्रेन्थिङ’ परियोजनाको परामर्श सेवा ठेक्का विवादमा परेको छ।
परामर्श सेवा ठेक्का भाग लिएको जापानको निप्पोन कोइ कम्पनी लिमिटेडले बोलपत्रमा भएको प्रावधानविपरित डलरमा मात्र प्रस्ताव पेश गरेपछि उसको बोलपत्र सारभूत रुपमा अप्रवाहग्राही(नन रिस्पोन्सिभ) भएपछि विवादित बनेको हो।
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा परियोजनाको सुरु हुन लागेको हो। परियोजनाको बजेट एक करोड २० लाख अमेरिकी डलर रहेको छ। प्राधिकरणले प्रसारण र सबस्टेशन र वितरण प्रणालीलाई आधुनिक बनाउन परियोजना सुरु गरेको हो।
बन्न लागेको ठूलो प्रसारण लाइन तथा सबस्टेशन परियोजनाका लागि नेपालमा खर्च गर्ने रकम नेपाली रुपैयाँमा राख्ने व्यवस्था ठेक्कामा गरिएको छ। निप्पोन कोइले नेपालमा गर्ने खर्च पनि डलरमा राखेपछि उसको प्रस्ताव अयोग्य ठहर भएको छ।
यद्यपी, विद्युत प्राधिकरण व्यवस्थापन उसैलाई ठेक्का दिन लागि परेको स्रोतको भनाई छ। अहिले निप्पोनको प्रस्ताव रद्ध गर्नुपर्नेमा प्राविधिक रुपमा पहिलो नम्बरमा राखेपछि परियोजनाको ठेक्का विवादमा परेको बताइएको छ।
गत परियोजनाको काम सुरु गर्न विद्युत प्राधिकरणले गत डिसेम्बर २५ मा बोलपत्र आब्हान गरेको थियो। जसमा जीओपीए टेक जीएमबीएच, निप्पोन, पावर ग्रिढ कर्पोरेशन अफ इन्डिया लिमिटेड, स्मेक इन्टरनेसनल र वापकोर्स लिमिटेड छनौट भई बोलपत्र पेश गरेका थिए।
बोलपत्रको भाग दुईअन्तर्गत आईटीसी तथा डाटा सिट प्रावधानमा प्रस्तावको मुद्रा सम्बन्धित धारा १६.४ अनुसार स्थानीय खर्चसँग सम्बन्धित मूल अंश राष्ट्रिय मुद्रामा हुनुपर्ने व्यवस्था छ।
जसमा स्थानीयरुपमा हुने खर्चका लागि नेपाली रुपैयाँमा बोलपत्रमा पेश गर्नुपर्ने व्यवस्था हो। तर, निप्पोनले डलरमा मात्र पेश गरेको छ। जीओपीए टेकले ९३ लाख ५० हजार ९१२ डलर सात करोड सात लाख नेपाली रुपैयामा पेश गरेको छ।
निप्पोनले ९६ लाख ५० हजार ४१२ डलर पेश गरेको छ। पावर ग्रीडले ५७ लाख ५७ हजार ३८५ डलर र ५५ करोड ७३ लाख ३३ हजार २७५ रुपैयाँ प्रस्ताव गरेको छ।
आइसीटी र डाटा सिटका प्रावधानहरूले संस्थाहरूले अनिवार्य रूपमा स्थानीय खर्च नेपाली रुपैयाँमा नै राख्नु पर्ने स्पष्ट निर्देशन दिएको छ। तर निप्पोन कोइ कम्पनीले सो अनुसार स्थानीय खर्च नेपाली रुपैयाँमा जनाएको नपाइएको स्रोतको दाबी छ।
केही प्रस्तावहरूमा डलर र नेपाली रुपैयाँ दुवै प्रयोग गरिएको हुँदा र केहीमा मात्र डलर मात्र प्रयोग गरिएको हुँदा सबैलाई समान आधारमा तुलना गर्न गाह्रो हुन्छ। मुद्रा संरचनामा फरक भएकाले लागत बुझ्ने तरिका पनि फरक पर्न सक्ने बताइएको छ।
साथै, परियोजनाको अवधिभर विनिमय दर परिवर्तन हुने जोखिम रहने भएकाले अहिले सस्तो देखिने डलर मात्र भएका प्रस्तावहरू कार्यान्वयनको समयमा फरक आर्थिक असर पार्न सक्छ। यसले आर्थिक भार पनि निम्त्याउन सक्छ।
डाटा सिटमा स्पष्ट रूपमा स्थानीय खर्च अनिवार्य रूपमा नेपाली रुपैयाँमा उल्लेख गर्नुपर्ने प्रावधान हुँदाहुँदै पनि सो अनुरूप नगरेको पाइएको छ। निप्पोनले बोलपत्रमा भएको प्रावधानको उल्लघंन गरेको छ।
ठेक्का प्रस्ताव गर्दा एक महिनाअघिको डलरको मूल्य पेश गर्नुपर्ने हुन्छ। तर बोलपत्र पेश गर्ने बेला एक डलरबरारब १४० रुपैयाँ थियो। अहिले १५० रुपैयाँ माथि पुगिसकेको छ।
परियोजनाअन्तर्गत बुटबलदेखि दाङको लमहीसम्म १७० किलोमिटर लामो ४०० केभी प्रसारण लाइन, छ किलोमिटर लामो १३२ केभीको लुप इन प्रसारण लाइन, २० किलोमिटर लामो नैनपार प्रसारण लाइन र नेपालगञ्जमा सबस्टेशन रहेको छ।
यस्तै निजगढदेखि रमौलीसम्म ३८ किलोमिटर लामो प्रसारण लाइनका साथै सबस्टेशन, चार किलोमिटर लामो ४०० केभी लाइनलगायत अन्य परियोजनाहरु रहेका छन्।


