काठमाडौँ: शनिबारदेखि काठमाडौँसहित उपत्यकाबाहिर विभिन्न अतिक्रमित सार्वजनिक जग्गाबाट सुकुम्बासी बस्ती भत्काउने कार्य चलिरहेको छ। काठमाडौँमा थापाथली, गैरीगाउँ, सिनामंगल र शान्तिनगरलगायत क्षेत्रमा डोजर चलेको छ।
सरकारले अन्यत्र जग्गा नभएका व्यक्तिलाई १५ दिन लजमा राखेर त्यसपछि नागार्जुनस्थित सुकुम्बासीहरूलाई बसाउन बनेको सरकारी भवनमा राख्ने तयारी गरेको छ। बस्ती भत्काएपछि अन्यत्र जग्गा नभएका व्यक्तिलाई सम्पर्कमा आउन भनेकोमा आइतबार मध्यान्हसम्म २१९ परिवार सरकारको सम्पर्कमा आएका छन्।
थापाथली, गैरीगाउँ, सिनामंगल र शान्तिनगरका सुकुम्बासी बस्तीबाट २१९ परिवारका ९९७ जना सम्पर्कमा आएका हुन्। दशरथ रंगशालामा उनीहरूको विवरण संकलन गरिँदैछ। विवरण संकलनपश्चात् विभिन्न ५ वटा होल्डिङ सेन्टरमा उनीहरूलाई राख्ने व्यवस्था गरिएको छ।
प्रधानमन्त्री बालेन शाहको निर्देशनमा भत्काइएका थापाथली, गैरीगाउँ, सिनामंगल लगायतका सुकुम्बासी बस्तीबाट आइतबार मध्याह्नसम्म २१९ परिवार रंगशाला पुगेका छन्।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले उनीहरूको विवरण संकलन गरिरहेका छन्।
शनिबार सम्पर्कमा आएका थापाथली क्षेत्रका ३१ सुकुम्बासी परिवारलाई कीर्तिपुरको सत्संग भवनमा सुकुम्बासी राख्न बनाइएको होल्डिङ सेन्टरमा पठाइएको छ।


