काठमाडौँ- बैंक वित्तीय संस्था र भुक्तानी सेवाप्रदायकमार्फत नेपाल क्युआरमा ३ लाखभन्दा बढी मर्चेन्ट आबद्ध भएका छन्। छोटो समयको अन्तरालमा तीन लाखभन्दा बढी मर्चेन्ट क्युआरमा आबद्ध हुनुले नेपालमा क्युआरसम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवर्द्धनमा थप मद्दत पुग्ने विश्वास गरिएको छ।
नेसनल पेमेन्ट स्विचअन्तर्गत नेपाल–क्युआर स्ट्यान्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल क्युआर सञ्चालनमा ल्याइएको हो। क्युआर स्किमका रूपमा पनि उपलब्ध रहेको उक्त नेपाल क्युआरले मर्चेन्ट वा नेटवर्क लेभलमाअन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ।
हाल २३ बैंक वित्तीय संस्था तथा ३ भुक्तानी सेवा प्रदायकमार्फत व्यावसायिक ग्राहकहरुले नेपाल क्युआरमा आबद्ध हुन सक्दछन् भने २१ बैंक वित्तीय संस्था तथा ६ भुक्तानी सेवाप्रदायकका वालेटमार्फत स्क्यान र पे सुविधा उपलब्ध रहेको छ।
विभिन्न व्यावसायिक ग्राहकले नेपाल क्युआरमा आबद्ध भई क्युआरबाट भुक्तानी प्राप्त गर्न आफ्नो बैंक वित्तीय संस्था वा भुक्तानी सेवाप्रदायकसँग सम्पर्क गर्नुपर्ने हुन्छ। भौतिक रुपमा क्युआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ सिस्टममा डाइनामिक क्युआर इन्टिग्रेट गरी वा ईकमर्स पोर्टलमा क्युआर गेटवे जोडी अथवा एन्ड्रोइड पीओएसमा इन्टिग्रेट गरी उक्त भुक्तानी सेवा सुरु गर्न सकिन्छ।
धेरैजसो बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप, विभिन्न भुक्तानी सेवाप्रदायकको वालेटको एप तथा कनेक्ट आईपीएस मोबाइल एप मार्फत नेपाल क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको छ।
नेपाल क्युआरबाट भुक्तानी गर्न मोबाइल बैंकिङ वालेटको प्रयोगकर्ताले क्युआर स्क्यान गर्ने अप्सनमा गई नेपाल यिन गो रहेको यकिन गर्नुपर्ने कम्पनीले जनाएको छ।


