काठमाडौँ: यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ। विभागले वैशाख १६ गतेदेखि लागू हुने गरी यात्रुवाहक र मालवाहक दुवै प्रकारका सवारी साधनको भाडा बढाउने निर्णय गरेको हो।
यो समायोजन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमति र विभागको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार गरिएको विभागले जनाएको छ। नयाँ तोकिएको दर अनुसार यात्रुवाहक सवारी साधनको भाडा ५.३ प्रतिशतले बढाइएको छ।
पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ७.७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ९.१ प्रतिशतले वृद्धि गरिएको छ। यो वृद्धिले विशेषगरी लामो दूरीको यात्रा र सामान ढुवानीको लागतमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ।
यो निर्णय दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने राष्ट्रिय स्तरका रुटहरूमा मात्र लागू हुने विभागले जनाएको छ।
वातावरणमैत्री विद्युतीय सवारी साधनको हकमा भने पुरानै भाडादर कायम रहने र यसमा कुनै वृद्धि नगरिएको सूचनामा उल्लेख छ। विभागले नयाँ भाडादरको विस्तृत सूची समेत सार्वजनिक गर्दै सबै सरोकारवालालाई यसै बमोजिम कार्यान्वयन गर्न सूचित गरेको छ।








