भरतपुर- भरतपुर महानगरपालिका-५ त्रिवेणी चोकमा निलो रङ्गको तीनतले घरलाई कम्पाउन्डले घेरिएको छ। बाहिरदेखि भित्रसम्म सफा राखिएको घरमा प्रवेश गर्ने गेट नजिकै ‘मज्जाले खाऔं, खुशीले जिऔँ’ भन्ने नारा झुन्ड्याइएको छ। घरको बार्दलीमा दुईतर्फ उस्तैउस्तै उरी मःमको बोर्ड राखिएको छ।
कोरियामा रोजगारी गरी फर्किएका भरतपुर महानगरपालिका-५ का इमान गिरीको आवासीय प्रयोजनसमेतको घर हो यो। आफ्नै निवासलाई कार्यस्थल बनाएर मःम व्यवसाय सुरु गरेका छन् इमानले। उनको जोड तयारी मःम बिक्री गर्नुभन्दा पनि फ्रोजन मम डेलिभरी गर्नुमा छ। उनी आफैँले खोलेको उरी मःमको बजार विस्तारका लागि काम गरिरहेका छन्। मःमका पारखीहरूका लागि भेज, ननभेज र सी मःम (फ्रोजन) उपलब्ध गराउँदै आएका छन्।
कोरियामा कामका शिलशिलामा मःमःलाई विभिन्न दृष्टिकोणलाई नजिकबाट नियाल्ने अवसर मिलेको थियो गिरीलाई। १५ वर्षको कोरियाको खाद्य क्षेत्रमा काम गरेका उनी त्यहाँको अनुशासन र ईमान्दारिताका कारण प्रभावित छन्। कोरियाको जस्तै स्वास्थ्यवर्द्धक र गुणस्तरीय फ्रोजन फुड उपलब्ध गराउने उद्देश्यले उरी मःमःको सुरु भएको हो।

मःमकै व्यवसाय नै गर्नुपर्ने प्रेरणा चाहिँ कहाँबाट आयो त? यसमा पनि उनले एउटा प्रसंग सुनाए। कोरियाबाट फर्किएपछि काठमाडौँ कंलकीको एक रेस्टुरेन्टमा मःमःको स्वाद लिन गिरी छिरे। त्यहाँ हाइजेनिक र फ्रोजन नभएको देखे उनले। मःमः खानेहरूको भिड व्यवस्थापनमा पनि समस्या भइरहेको थियो। काम गर्नेहरू धमाधम काम गरिरहेका थिए। तर आएका ग्राहकहरूले लामो समय रेस्टुरेन्टमा कुर्न परिरहेको थियो। कुराईको अनुभव गिरीलाई पनि भयो।
मःमःको स्वाद लिएपछि उनी रेस्टुरेन्टको पछाडि किचनतर्फ नजर लगाए। स्वास्थ्यका दृष्टिकोणबाट उनलाई किचन खास सफा लागेन। ग्राहकलाई चाँडै मःम दिन नसकिरहेको अवस्थालाई पनि नियाले। हाइजेनिक र फ्रोजन ममको कोरियाली बजारको अभ्यास सम्झिए। त्यस्तै सुविधा यहाँ पनि दिन सके राम्रो हुने सोचेर फर्किए।
कोरियामा काम गरी फर्केका गिरीलाई कलंकीको ममले नेपालमा ममको व्यवसायतर्फ डोहोर्याएको हो। नेपालीहरुले धेरै रुचाइएको खाजामा पर्ने मःमको बजार विस्तार गरी देशभर फैलाउने उनको लक्ष्य छ। व्यवसाय विस्तार गर्नु मात्र उनको उद्देश्य होइन, हाइजेनिक खानेकुराको व्यवसाय विस्तार गर्ने उनको प्राथमिक लक्ष्य हो।
‘स्वास्थ्यलाई ख्याल पनि राख्नु पर्यो। गुणस्तर पनि हुनु पर्यो,’ उनी भन्छन्, ‘त्यसैले निकै अनुसन्धान गरेर यो काम सुरु गरेको हुँ। यसले विस्तारै पिकअप लिँदैछ। अब धेरै पूर्वाधार बनिसकेको छ। यति काम गर्न थुप्रै समय लाग्दथ्यो। जे होस् मुख्य पूर्वाधार तयार भयो। अब बजार विस्तारमा केन्द्रित हुने योजना छ।’
हाल गाउँघरका सामान्य पसलदेखि सहरका ठूला रेस्टुरेन्ट र होटलमा मःमःका परिकार पाइन्छन्। रेस्टुरेन्टमा कामदारले हातबाट नै बनाएर स्टिम गरी बिक्री गरिएको पाइन्छ र ठूला रेस्टुरेन्टमा डिप फ्रिजमा फ्रोजन गरी राखेको र मःमको अर्डरअनुसार तयार गरी बिक्री गरिन्छ।
पारखीहरूका लागि मःम मात्र स्वादिष्ट भएर पुग्दैन। यसको स्वाद निर्धारणमा अचारले पनि उतिकै फरक पारेको हुन्छ। टमाटर, धनियाँ, टिमुर, ल्वाङ सुकुमेललगायतका सामग्री मःमसँग खाने अचारका लागि हड्डीसम्मको मिश्रणबाट अचार तयार गरिन्छ। परम्परागत रूपमा मःम र अचार बनाउने प्रणालीमा पनि मेसिनले सहयोग गर्न थालेको छ। यी सबै प्रक्रियामा स्वस्थकर प्रणाली र सामग्रीप्रति ग्राहकको सचेतता बढिरहेको छ। त्यसैले सरसफाइदेखि लिएर ग्राहकको सन्तुष्टि पूरा गर्नु पनि बिक्रेताको कर्तव्य हुन आउँछ। उरीले यी सबै माग र आवश्यकता पूरा गर्ने ध्येय बनाएको बताउँछन् गिरी।

उरीले मार्ट, क्यान्टिन तथा होटलका लागि ताजा र फ्रोजन मःमः होलसेल मूल्यमा होम डेलिभरीको काम उरीले गर्दै आएको छ। कोरियाली भाषाको शब्द ‘उरी’को नेपाली रुपान्तरण ‘हाम्रो’ भन्ने हुन्छ।
फ्रोजन मःम बिक्रीका लागि उरीले २ किलो र ५ किलोको प्याकेट बनाएको छ। १ घण्टामा ३ हजार पिससम्म मःम उत्पादन गर्न सक्ने क्षमता उरीले जडान गरेको छ। मागअनुसार छिटो होम डेलिभरीको सेवा दिँदै आएको उरीका गिरीले बताए।
चितवनमा फ्रोजन मःमका पहिला उद्यमी हुन् गिरी। उनले आठ जनालाई रोजगारी दिइरहेका गिरीले कोरियामा मासिक तीन लाख रुपैयाँ आम्दानी गर्दै आएपनि उनले विदेशमा सिकेको सिप स्वदेशमा उपयोग गर्ने र पुस्तान्तरण गर्ने योजनाले उनलाई उद्यमी बनाएको हो।
गिरीले २० लाख रुपैयाँ उरीमा लगानी गरेका थिए। उद्योगको लगानी अहिले करोड रुपैयाँ पुगिसकेको छ। ६ वर्षअघि स्वेदश फर्किएका गिरी परिवारको ईच्छाअनुसार स्वदेश फर्किएका हुन्। चाहेका भए उनले उतै बसेर कोरियाकै स्थायी आवास अनुमति (पीआर) पनि बनाउन सक्दथे। नेपालमा सानै संख्यामा भएपनि रोजगारी पनि सिर्जनाका लागि केही गरौँ भन्ने आफ्नो चाहना र परिवारका सदस्यहरूको नेपाल फर्काउने चाहनाका कारण उरी जन्मिएको हो।
कोरियाबाट फर्किए लगतै उनले पहिले आफ्नो बासस्थान बनाए। विवाह गरे। कामको योजना बनिरहेको थियो। लकडाउन शुरु भयो। सुरुमा गिरी दम्पतीले मात्रै उद्योग सञ्चालन गरे। आफैँ खटिँदै गए। पछि विस्तारै लगानी थप्दै गए। अन्य श्रमिक पनि थप्दै गए।
‘हामी श्रीमानश्रीमती भएर उद्योग सञ्चालन गर्यौँ, सुरुमै उद्योग सञ्चालन हुन्छ कि हुँदैन भन्ने ठूलो डर पनि थियो,’ गिरीले भने, ‘बजारबाट राम्रो प्रतिक्रिया र माग आयो। यसपछि उद्योगमा लगानी बढाएर कामदार पनि थप गर्दै लग्यौँ।’ कोरियाली प्रविधि भित्र्याएर फ्रोजन मःमको होलसेल तथा खुद्रा बिक्रीले उनलाई सन्तुष्टि दिलाउँदै गएको छ।
उरी उद्योगबाट उत्पादन गरेको मःम तीन घण्टाभित्र फ्रोजन गरेर बजारमा पठाउने गरेका छन्। ‘मेसिनबाट मःम उत्पादन भएपछि फ्रोजनका लागि डीप फ्रिजमा राख्नुपर्छ। चाँडो फ्रोजन भएको मःम गुणस्तरीय हुन्छ,’ गिरीले भने, ‘हामीले चाँडो फ्रोजन हुने मेसिन राखेर मःम फ्रोजन गरेपछि बजारमा पठाउने गरेका छौँ।’ मःमको गुणस्तरबारे सचेत भएर उत्पादन गर्दै बिक्री वितरण गर्ने गरेको उल्लेख गर्दै गिरीले गुणस्तरीय उत्पादन भएकै कारण बजारमा माग बढी भएको बताए।
उरीसँग दैनिक पाँच हजार प्लेट मःम उत्पादन गर्ने क्षमता छ। तर पूर्ण क्षमतामा काम भइरहेको छैन। अहिले दैनिक तीन हजार प्लेट मःम उत्पादन भइरहेको छ। ‘अहिले हामीले उत्पादन गरेको मःमका लागि बजारीकरणमा खासै समस्या छैन,’ गिरीले भने, ‘चितवनमा मात्रै नभएर मकवानपुर, तनहुँ र पाल्पाको रामपुरसम्म हामीले फ्रोजन मःम पुर्याउन थालेका छौँ।’
गिरी युवालाई स्वरोजगार बनाउन सहयोग पनि गर्दै आएका छन्। ‘खाडी मुलुक जान पनि साढे एक लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ। तर, त्यो लगानी लिएर यहीँ राम्रो आम्दानी गर्न सकिन्छ,’ उनी भन्छन्। युवाहरुलाई आफूले उरी मःमको डिलरसिप दिएर नेपालमै उद्यमशील बनाउने उनको अर्क लक्ष्य पनि छ। मःमको डिलरसिपसँगै तयारी मःमको लागि आवश्यक सम्पूर्ण सामान आफूले उपलब्ध गराइदिने बताए। गिरी आफू मात्रै उद्यमी बनेर नबस्ने भन्दै विदेसिन तयार युवालाई स्वदेशमा नै गर्न सकिने विकल्पबारे सोच्न आग्रह गरे।

‘एउटा सटर राखेर मःमको डिलरसिप राख्नुभयो भने त्यहाँ तयारी मःमलाई आवश्यक पर्ने सबै सामान म डेलिभरी गरिदिन्छु,’ गिरीले भने, ‘त्यो सटरमा पानी, चिसोलगायतका पेय पदार्थ पनि बिक्री गरेपछि खाडीमा हुने कमाइ स्वदेशमा नै गर्न सकिन्छ।’
गिरीले फ्रोजन मात्र होइन, तयारी मःम पनि बिक्री गर्दै आएका छन्। पार्टीलगायत धेरै अर्डर भएको ठाउँमा तयारी मःम पनि बिक्री गर्ने गरेको गिरीले बताए।
उरी मःमले चितवनका मात्र होइन, अन्य स्थानमा हुने महोत्सवमा पनि प्रदर्शनीमा राख्दै आएको छ। देशका हरेक जिल्लामा उरी मःमः को डिलर होस् अनि युवाहरुले आफ्नै देशमा केही गरेर देखाउन भन्ने आफ्नो चाहना रहेको गिरी बताउँछन्।
महानगरको प्रयास
भरतपुर महानगरपालिका अन्तर्गत रोजगार सेवा केन्द्र वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई नेपालमा उद्यम गर्न सघाउँदै आएको छ। महानगरपालिकाका रोजगार संयोजक सन्देश वाग्लेका अनुसार ‘सामी’ कार्यक्रम चलाएर वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई उद्यमशील बनाउने योजना बनाइरहेको छ। सूचनामा पहुँच, सीप तालिमका लागि सहजीकरण, न्यायमा सहजीकरण, मनोसामाजिक परामर्शको सिफारिस, वित्तीय साक्षरतालगायतका काम सामीले गर्दै आएको छ।
वैदेशिक रोजगारबाट फर्केकाहरूको तथ्याङ्क महानगरपालिकाको हरेक वडाबाट लिइरहेको र उनीहरुले विदेशमा सिकेका सिपको लागि आवश्यकता अनुसार के गर्न सकिन्छ कार्ययोजना बनाउँदै जाने वाग्ले बताउँछन्। वैदेशिक रोजगारबाट फर्केकाको सिप सदूपयोग गरी स्वरोजगार बनाउने लक्ष्य महानगरको छ।
