काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को ६०औँ वार्षिक साधारणसभाबाट अञ्जन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। मंगलबार काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न मतदानको अन्तिम परिणाम सार्वजनिक भएसँगै महासंघको नयाँ नेतृत्व टुंगिएको हो।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानअनुसार श्रेष्ठ अध्यक्ष बनेका हुन्। उनी उक्त स्वतः प्रणालीमार्फत नेतृत्व सम्हाल्ने अन्तिम अध्यक्ष समेत हुनेछन्, किनकि आगामी कार्यकालदेखि नेतृत्व प्रत्यक्ष निर्वाचनमार्फत चयन गरिने व्यवस्था लागू हुँदैछ।
नवनियुक्त अध्यक्ष श्रेष्ठलाई निवर्तमान अध्यक्ष चन्द्र ढकालले ब्याच लगाइदिएका छन्। नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण र शपथ बिहीबार गराइनेछ।

निर्वाचनबाट अन्जन अनुकूल नेतृत्व आएको छ।
एसोसिएटतर्फ उपाध्यक्षमा अन्जन समूहका प्रबलजंग पाण्डे निर्वाचित भए। पाण्डे १,०७९ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी ज्योत्स्ना श्रेष्ठले ७५० मत प्राप्त गरिन्। अन्जन समूहका पाण्डे प्यानलबाट १७ जना सदस्य निर्वाचित भएका छन्, जसमा सचिन ढकाल, हेमन्त गोल्छा, अम्बिका प्रसाद पौडेल, उज्ज्वल कुमार श्रेष्ठ, शक्तिकुमार बेगानी, ऋषि अग्रवाल, सुशील थापा, राजेश कुमार अग्रवाल, सुयस प्याकुरेल, रामशरण भण्डारी, बाबुकाजी कार्की, दिवस न्यौपाने, कृष्णलाल महर्जन, प्रियराज रेग्मी, ईश्वरबहादुर जीसी, सुरज उप्रेती र बटु लामिछाने रहेका छन्।
यो पनि: उद्योगी–व्यवसायीका नयाँ ‘कमान्डर’ अन्जनको अग्निपरीक्षा, फर्काउलान् निजी क्षेत्रको चमक?
जिल्ला तथा नगरतर्फबाट पनि अन्जन समूहका दुई उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठले जित हात पारे। वस्तुगत उपाध्यक्षमा भने हेमराज ढकाल समूहका नरेशलाल श्रेष्ठ विजयी भएका छन्।

यसैगरी जिल्ला–नगर र वस्तुगत समूहका कार्यकारिणी सदस्यहरू, महिला सदस्यहरू तथा प्रदेशगत प्रतिनिधिहरूमा हरिप्रसाद अर्याल, मोहनप्रसाद श्रेष्ठ, गीता अमात्य, हिरा भट्टराई, जीवन पराजुली, अमरनाथ शाह, प्रकाश मानन्धर, पविन्द्रकुमार श्रेष्ठ, यज्ञप्रसाद भट्टराई, पिताम्बर जोशी तथा वस्तुगततर्फ अरनिको राजभण्डारी, होमप्रसाद घिमिरे, सुनिता न्हेम्हाफुकी, विश्वनाथ खनाल, सुनैना घिमिरे, साथै एसोसिएट महिला सदस्यमा अभिज्ञा मल्ल, जुना माथेमा र अन्यतर्फ मनोज पौडेल तथा संस्थापक समूहबाट गोपाल श्रेष्ठ र सुमनकुमार श्रेष्ठ पनि निर्वाचित भएका छन्।
समग्र नतिजाले एसोसिएट र जिल्ला–नगर समूहमा अञ्जन श्रेष्ठ पक्षको स्पष्ट वर्चस्व देखाएको छ भने वस्तुगततर्फ हेमराज समूहले आंशिक सफलता हात पारेको छ।



