नयाँदिल्ली: भारतले नेपाललाई पेट्रोलियम पदार्थ र रसायनिक मल मागअनुसार उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। भारतीय विदेश मन्त्रालयले दुई देशबीचको सम्बन्धलाई बहुआयामिक संज्ञा दिँदै अत्यावश्यक वस्तुको प्रवाहमा कुनै कमी हुन नदिने बताएको हो।
बिहीबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालको इन्धन र मलको आवश्यकताप्रति भारत संवेदनशील रहेको बताए। उनले नेपालले मागे जति र सम्झौता भएअनुसारको परिमाण उपलब्ध गराउन भारत तयार रहेको बताएका हुन्।
पेट्रोलियम पदार्थको आपूर्तिबारे सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता जैसवालले भने, ‘नेपाल र भारतबीच इन्धन सम्बन्धी जुन विशेष समझदारी छ, हामी त्यसैलाई पछ्याउँदै आपूर्ति गरिरहेका छौँ। यो प्रक्रिया भविष्यमा पनि निर्वाध रूपमा जारी रहनेछ।’
नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आईओसी) बीचको दशकौँ पुरानो व्यावसायिक सम्बन्धलाई भारतले प्राथमिकतामा राखेको उनको भनाइ थियो।
त्यसैगरी, रसायनिक मलबारे पनि उनले दुई देशबीच भएको सरकार–सरकार (जीटुजी) सम्झौता बमोजिम नै मल पठाइने बताए।


