मुगु: हिमाली जिल्ला मुगुको पूर्व भेगमा पने मुगमकामारोङग गाउँपालिकामा पाहिने बहुमूल्य जडीबुटी यार्चागुम्बा टिप्न गएका २५ जना मानिसहरू पक्राउ परेका छन्। मुगु जिल्लाका विभिन्न यार्चा पाटनहरूमा यार्चागुम्बा टिप्न जाँदै गरेका २५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ।
जुम्ला जिल्ला पातारासी गाउँपालिकाका वडा नं १ र २ का एक बालिकासहित २४ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रविराज थपलियाले बताए।
‘बिना अनुमति पाटन वन क्षेत्रमा प्रवेश गर्ने व्यक्तिलाई पक्राउ गरेका छौँ, यो भन्दा अगाडि पनि जिल्ला प्रहरी कार्यालय मुगु र सम्बन्धित प्रहरी चौकीहरूको समन्वयमा ठूलो संख्यामा चोरीमा गएका व्यक्तिलाई पक्राउ गरेर सम्बन्धित स्थानमा पठाइसकेको छौँ,’ उनले भने।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइसकेको पनि प्रनाउ थपलियाले जानकारी दिए।
यार्चागुम्बा संकलनको लागि मुगुमा कार्मारोङ्ग गाउँपालिकाले हालसम्म कुनै पनि आधिकारिक रूपमा सूचना प्रकाशित गरेको छैन। विगत वर्षहरूमा यार्चागुम्बा संकलनको लागि विभिन्न छिमेकी जिल्लाबाट अनधिकृत रूपमा लुकीछिपी वन प्रवेश गर्ने व्यक्तिलाई पक्राउ गरी सम्झाइ बझाइ गरेर सम्बन्धित गाउँ घरमा फर्काउने गरिँदै प्रहरीले जनाएको छ। तर यो पटक पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखी बयान लिएर हाजिरी जमानी गरेर छाड्ने तयारी प्रहरीले गरेको छ।
यार्चागुम्बा संकलनको समय नजिकिँदै गर्दा मुगुका यार्चापाटनहरूमा सुरक्षा बढाइएको छ। यो वर्ष यार्चागुम्बा संकलनका लागि जिल्लाका यार्चापाटनहरू कहिले खुलाउने भन्ने विषयमा कुनै जानकारी गरिएको छैन। मुगुमा कार्मारोङ्ग गाउँपालिकाले एक सूचना जारी गर्दै यार्चा संकलनमा यार्चापाटनहरू आधिकारिक रूपमा नखुल्दै कोही कसैलाई चोरीको लागि पाटनतिर प्रवेश नगर्न आग्रह भने गरिसकेको छ।
मुगु जिल्लाका २ दर्जन बढी वन तथा पाटन क्षेत्रहरूमा पाइने बहुमूल्य, बहु उपयोगी जडीबुटी यार्चागुम्बा सङ्कलनका लागि हुम्ला, जुम्ला, बाजुरा, दैलेख, कालिकोट, अछामसहित देशभर तथा भारतबाट समेत सङ्कलक र खरिदकर्ताहरू पाटन मै पुग्ने गर्दछन्।
यार्चागुम्बा दुर्गमका जनताहरूको प्रमुख आर्थिक स्रोतका रूपमा रहेको छ यहाँ जनता आफ्नो वर्षभरिको पारिवारिक खर्च यार्चा बिक्रीबाटै जुटाउने गर्दछन्।


