चीनको राजधानी बेइजिङ, त्यहाँ रहेको विश्वकै टपमा त्यस्तै १४/१५ अनि चीनको सायद दोस्रो नम्बरमा पर्ने, ५० हजार विद्यार्थी भएको र १०० भन्दा बढी देशका ७ हजार जति अन्तर्राष्ट्रिय विद्यार्थी भएको बेइजिङ (पेकिङ) विश्वविद्यालय। अप्रिलको महिना, खुलेको आकाश, अलि-अलि हावा चलेको भए तापनि न्यानो मौसम, त्यसमाथि पैयूँ, आरु (कतिको मलाई नेपाली नाम थाहा भएन, अनि कति हाम्रतिर पाइँदैनन् पनि) लगायतका धेरै फूलले ढकमक्क, तिनीहरूको सुगन्ध र सौन्दर्यले वातावरणलाई एउटा छुट्टै मादकता दिएको छ। तर पनि यो उत्सवमय प्रकृतिभन्दा बढी त आज मेरो मन ढकमक्क फुलेको छ। कारण, यही विश्वविद्यालयबाट आज म ‘डाक्टर’ (पीएचडी) को उपाधि लिएर बाहिर निस्किएकी छु। औपचारिक कार्यक्रम सकेर म छोरीसँग फोटो खिच्ने उपयुक्त ठाउँ खोज्दै थिएँ। रातो गाउन र ह्याटमा सजिएर फोटो खिच्दा आफ्नै खुट्टाले भुईँ छोडेको जस्तो भइरहेको छ। साथमा रहेकी आफ्नी चुलबुले छोरीको मुस्कानले मलाई संसारकै सबैभन्दा ठुलो खुसी दिएको छ। विश्वविद्यालयको यो उत्सवमय वातावरणमा फोटो खिचिदिने मान्छेको खोजीमा धेरै तँछाडमछाड थियो। म पनि क्यामेरा हातमा लिएर कसैलाई अनुरोध गरौँ कि भन्ने पर्खाइमा थिएँ।
त्यसैबीच, होचो कद, मोटो शरीर, चिम्सा आँखा र खासै दारी-जुँघा नभएका एकजना सज्जनले रोइरहेको सानो बच्चालाई डोहोर्याइरहेका थिए। ती व्यक्ति हामीतिर आए र चिनियाँ मन्डारिन भाषामा सोधे, “तपाईँ फोटो खिचिदिने मान्छे खोजिरहनुभएको जस्तो छ, म सहयोग गरौँ?” मैले हत्तपत्त “हो, हो” भन्दै क्यामेरा उनलाई थमाएँ। उनले हाम्रा केही सुन्दर तस्बिरहरू कैद गरिदिए र पछि मैले पनि उनको र त्यो बच्चाको फोटो खिचिदिएँ। धन्यवाद आदानप्रदान गरेर हामी छुट्टियौँ। म छोरीलाई डोहोर्याउँदै सटल बसको स्ट्यान्डतिर लागेँ, तर मेरा पाइलाहरू अगाडि बढे पनि मन भने त्यहीँ अड्किएको थियो। बससम्म पुगुन्जेल मैले पटक-पटक पछाडि फर्केर हेरेँ। दुई पटक त हाम्रा आँखा जुधे अर्थात् उनले पनि मलाई फर्की-फर्की हेरिरहेका रहेछन्। वास्तवमा, उनले फोटो खिचिदिने प्रस्ताव गर्दा नै मेरो दिमाग घुमेको थियो— कता-कता देखेको, निकै नजिकबाट चिनेको जस्तो एउटा धमिलो छाया।
०००००००००००००००००००००००००००००००००००००००००००००००००००००००
गुल्मी शान्तिपुरको उदय उच्च माध्यमिक विद्यालयबाट १२ कक्षा पास गरेपछि हामी तीनजना साथीहरू थप अध्ययनका लागि रूपन्देहीको बुटवल, जसलाई हामी ‘बटौली’ भन्थ्यौँ, तिर सोझियौँ। बुटवल बहुमुखी क्याम्पसमा अङ्ग्रेजी साहित्य र इतिहास पढ्ने रहर त ठुलै थियो, तर सहर छिर्नुअघिको मेरो संसार निकै सानो थियो।
मलाई अझै सम्झना छ— नागरिकता बनाउन सदरमुकाम तम्घास जाँदा म डोजरको अगाडिको त्यो माटो खन्ने भागमा उभिएर गएकी थिएँ। डोजर जतिखेर हल्लिन्थ्यो, म आफ्ना दुवै हातले शरीर वरिपरिको कुर्ता र सललाई चारैतिरबाट च्याप्प समातेर बा र गाविस सचिवको बीचमा निकै सङ्कुचित भएर उभिन्थेँ। हुत्तिएर आउने हावाबाट कपडा जोगाउनु र त्यो साँघुरो ठाउँमा अरूसँग नठोक्किकन सन्तुलन मिलाउनु मेरा लागि ठूलै सकस थियो।
त्यस्तो पृष्ठभूमिबाट आएकी मलाई बटौली त रिडीको माघे संक्रान्ति मेलाभन्दा पनि ठूलो र कहिल्यै नटुङ्गिने हाटबजार जस्तो लाग्यो। तर यो सहर मेरो लागि सहज भने थिएन। बाटो काट्नदेखि रेस्टुरेन्टमा छिर्नसम्म मलाई निकै गाह्रो र दकसको चिज थियो। पहिलो पटक चाउमिन खाँदा काँटाचम्चा चलाउन नजानेर, वरपरका मान्छेले देख्लान् कि भन्ने डरले हातैले मुखमा कोचेकी थिएँ। बाटो बिराएर सहर पसेको कुनै ‘जङ्गली जनावर’ जस्तो महसुस हुन्थ्यो मलाई, जसलाई हरेक पाइलामा कसैले नियालिरहेको भान हुन्थ्यो।
पढाइमा म सधैँ औसत विद्यार्थी नै थिएँ भलै मेरा बा आफैँ शिक्षक हुनुहुन्थ्यो। स्नातक तेस्रो वर्षमा पुग्दा म बेपत्ता बिरामी भएँ र इतिहासको परीक्षा दिन सकिनँ। मेरो एक वर्ष खेर गयो। घरमा बाको सरकारी तलबबाहेक अरू आम्दानी शून्य थियो।
बुटवलमा म र मेरा दुईजना साथीहरू एक कोठा भाडामा लिएर बस्थ्यौँ। कोही केटा त्यसरी फेल भएर कोठामा बसेको भए उसलाई सायद ‘सङ्घर्ष गर्दै छ’ भनिन्थ्यो होला, तर हामी तीनजना केटीहरू सँगै हुँदा पनि समाजका लागि हामी ‘एक्लै र असुरक्षित’ थियौँ। एक साँझ, बा गाउँतिरकै एकजना आफन्तलाई लिएर हामीलाई भेट्न आउनुभएको थियो। बाहिर अँध्यारो छिप्पिँदै थियो, म भित्र कोठामा पढ्ने तरखर गर्दै थिएँ। बाहिर पिँढीमा ती आफन्तले बाको कान फुक्दै गरेको स्पष्ट सुनिन्थ्यो, “हेर्नुस् मास्टर साब, छोरी मान्छेलाई सहरमा कोठा लिएर यसरी राख्नु ठीक छैन। भोलि केही तलमाथि भयो भने नाक काटिने तपाईँकै हो। खुरुक्क बिहे गरिदिए तपाईँको पनि भार कम हुन्थ्यो।” बा केही बोल्नुभएन। बाको त्यो मौनता मलाई बाहिरको आवाजभन्दा बढी तिखो लाग्यो। मलाई अचम्म लागेन, बरु विश्वास भयो— बाले पनि उनीहरूकै कुरामा सहमति जनाउनुभयो! के मेरो अस्तित्व बाका लागि केवल एउटा ‘भार’ र ‘नाक काटिने डर’ मात्र थियो? त्यो रात मैले कसैले थाहा नपाउने गरी रोएरै बिताएँ। मैले आमालाई त्यस रात फेरि खुब सम्झिएँ।
भोलिपल्ट बिहानै बाले मलाई नजिकै बोलाउनुभयो र निकै मधुर स्वरमा भन्नुभयो, “छोरी नयना, धेरै राम्रा ठाउँबाट कुरा आएका छन्। अब तिमीले बिहे गर्नुपर्छ। फेल पनि भयौ, मैले खर्च धान्न सक्दिनँ अब।”
बाको त्यो ‘खर्च धान्न सक्दिनँ’ भन्ने स्वीकारोक्ति मेरा लागि बिहेको प्रस्तावभन्दा बढी बिझाउने थियो। खोई कहाँबाट साहस आयो, ठूलो हिम्मत जुटाएर बालाई भनेँ, “म बिहे गर्दिनँ बा, पढ्ने हो। तपाईँले थाम्न नसके म आफैँ केही गर्छु, तर अबदेखि मलाई तपाईँको एक सुको पनि चाहिँदैन।”
त्यो मेरो जीवनको पहिलो विद्रोह थियो। बा केही बोल्नुभएन। बाले मलाई एक टकले हेर्नुभयो। उहाँका आँखा राता-राता भए— रिसले हो वा पीडाले। बा जुरुक्क उठ्नुभयो र केही नबोली हिँड्नुभयो। मैले पनि उहाँलाई रोकिनँ, एक शब्द बोलिनँ। सायद उहाँको वचनले मलाई चोट लागेजस्तै मेरो वचनले उहाँलाई पनि चोट लाग्यो होला। मैले जिन्दगीमा पहिलो पटक बाको कुरा प्रतिवाद गरेकी थिएँ, सायद त्यही नै मेरो ‘स्वतन्त्रताको पहिलो घोषणा’ थियो।
बाले खर्च धान्न नसक्ने लाचारी व्यक्त गरेपछि र बिहेको कुरा चलेपछि, मलाई त्यहाँ एक पल बस्न पनि धौ-धौ भयो। मलाई लाग्थ्यो— बुटवलको यो गर्मी र कोलाहलले मेरो विद्रोहलाई सुकाइदिनेछ। मलाई कतै टाढा जानु थियो, जहाँ म कसैको ‘भार’ नभई आफ्नै अस्तित्व खोज्न सकूँ। त्यसैले, एउटा बिहान मैले आफ्नो सानो झोला गुजुमुजु पारेर बुटवल छोड्ने निर्णय गरेँ। मेरो गन्तव्य थियो— पाल्पाको दोभान, जहाँ मेरी सानीमा बस्नुहुन्थ्यो। बुटवलबाट त्यस्तै ३०/३२ किलोमिटर पर, अरू कहाँ नै थियो र म जाने र दुःख बिसाउने ठाउँ?
सानीमालाई देख्नेबित्तिकै मेरा रोकिएका आँसुका बाँध फुटे। सानीमाको काखमा टाउको राख्दा मलाई एउटा छुट्टै शीतलता महसुस भयो। हामी दुवै रातभरि रोएरै कटायौँ। मेरी आमा सानीमाकै काखमा बित्नुभएको थियो रे, र अन्तिम बोलीमा भन्नुभएको रहेछ— “नानी, अरू मलाई थाहा छैन, यो नयना तेरो जिम्मामा हो है!” सायद त्यही ‘जिम्मा’ पूरा गर्न सानीमाले मेरो आँसु पुछिदिनुभयो र मलाई सहारा दिनुभयो। मैले सानीमालाई स्पष्ट भनेँ— म अब घर फर्किन्न, मलाई जसरी नि पढ्नु छ।
भोलिपल्ट बिहान, म चिया पकाउन काँचा दाउरा कोच्दै फु-फु गरेर आगो सल्काउँदै थिएँ, त्यत्तिकैमा एउटा युवक सुस्तरी उकालो चढ्दै आँगनमा आइपुग्यो। उसले टाढैबाट बडो आत्मीय स्वरमा सोध्यो, “छ्यामा हुनुहुन्न?”
उसको मुखबाट निस्किएको त्यो ‘छ्यामा’ शब्दले मलाई एकछिन टक्क अड्यायो। पहाडको त्यो मीठो लवजमा कस्तो अपनत्व थियो! पछि थाहा भयो, ऊ सानीमाको छिमेकी र नेपाल विद्युत् प्राधिकरण, दोभानमा काम गर्ने लोचन रहेछ। उसले एउटा यस्तो खबर ल्याएको थियो, जसले मेरो जीवनको नयाँ अध्यायको ढोका खोल्नेवाला थियो। “स्थानीय सयपत्री बोर्डिङ स्कुलमा अङ्ग्रेजीको शिक्षक चाहिएको छ रे,” लोचनले सानीमालाई खबर सुनायो, “तपाईँको कोही चिनजानको मान्छे भए काम लाग्थ्यो कि भनेर खबर गरेको।” मलाई के चाहियो र? त्यही दिन म सानीमालाई लिएर स्कुल पुगेँ। स्कुल व्यवस्थापनले मलाई ६ कक्षामा लगेर परीक्षण कक्षा लिन लगायो। विद्यार्थीको अगाडि पहिलो पटक उभिँदा ओठमुख मात्र सुकेन, धर्ती नै भासिएझैँ भएको थियो। तर जब मैले बोल्न सुरु गरेँ, मेरो अङ्ग्रेजी साहित्यको प्रेम र बटौलीको त्यो सङ्घर्षले मलाई आत्मविश्वास दियो। म छानिएँ। मैले एक वर्षको करार गरेँ, किनभने अर्को वर्ष मलाई मास्टर्स पढ्नु थियो।
एक महिनापछि जब जिन्दगीको पहिलो कमाइ हातमा पर्यो, मलाई एउटा अनौठो अनुभूति भयो। त्यो बेला मैले बालाई ‘अब मलाई तपाईँको एक सुको चाहिँदैन’ भनेको झल्झली याद आएको थियो।
स्कुल बाहिर निस्कँदा सबैले हात जोडेर ‘नमस्ते मिस’ भन्थे। मलाई सपना जस्तो लाग्थ्यो। म अब एउटी ‘फेल भएकी छोरी’ मात्र थिइनँ, एउटी शिक्षिका भइसकेकी थिएँ।
पहाडको त्यो सानो बस्तीमा वर्षापछि आकाश खुल्दा एउटा छुट्टै जादु हुन्थ्यो। आकाश यति कञ्चन र नीलो छ कि लाग्छ कसैले भर्खरै गाढा मसी पोखिदिएको छ। बादलका टुक्राहरू पहाडका काखमा लुकामारी खेलिरहेका हुन्थे र हावामा एउटा चिसो-चिसो सुस्केरा अझै बाँकी छ, जसले गाला छुँदा हल्का सिरिङ्ग बनाउँछ, तर सूर्यको न्यानो किरणले त्यो चिसोलाई प्रेमपूर्वक पगालिदिन्छ। म सानीमाको घरको त्यो काठको बार्दलीमा उभिएर टाढाका थुम्काहरू हेर्दै हराइरहेकी थिएँ। त्यत्तिकैमा तलको चिप्लो गोरेटोबाट त्यही युवक उकालो चढ्दै गरेको देखियो— लोचन।
नजिकै आइपुग्दा मैले उसलाई राम्ररी नियालेँ। उसको अनुहारमा एउटा अनौठो चमक थियो— गोरो र चाक्लो अनुहार र हाँस्दा अझै ससाना हुने चिम्सा तर असाध्यै चम्किला आँखाहरू। उसले मलाई बार्दलीमा देख्नेबित्तिकै टक्क पाइला रोक्यो र दुवै हत्केला जोडेर बडो श्रद्धाका साथ भन्यो, “नमस्ते मिस! मलाई चिन्नुभयो? म छ्यामाको छिमेकी।” उसले मुसुक्क हाँस्दै भन्यो। उसको ‘नमस्ते’ मा एउटा यस्तो निश्चल र निर्दोषपन थियो, मानौँ ऊ मेरो कुनै सानो विद्यार्थी हो। मैले उसकै लवज सापटी लिँदै मुस्कुराएर जवाफ दिएँ, “तपाईँको छ्यामा त अहिले बजार जानुभएको छ।”
मेरो मुखबाट ‘छ्यामा’ शब्द सुन्दा उसको मुस्कान अझै फराकिलो भयो। म बार्दलीको काठको रेलिङमा हात राखेर तलतिर हेर्दै थिएँ, ऊ तल आँगनबाट मतिर हेर्दै उत्सुकताका साथ बोलिरहेको थियो। “ए, अनि मिसलाई यहाँ कस्तो लाग्दै छ त? सुन्थेँ सहर पढेको मान्छेलाई त यहाँ उकुसमुकुस हुन्छ रे!”
“मलाई त यहाँको शान्ति नै मन परेको छ लोचन जी,” मैले भनेँ, “बुटवलको त्यो गर्मी र कोलाहलभन्दा त यो स्वर्ग जस्तै छ।” “तपाईँ सहर छोडेर यहाँ हाम्रा नानीहरूलाई अङ्ग्रेजी पढाउन आइदिनुभयो, हामी धेरै खुसी छौँ। अनि स्कुल कस्तो लागिरहेको छ त तपाईँलाई? मेरी भान्जी पनि ६ कक्षामा छ, उसले त हिजोआज ‘म पनि नयना मिस जस्तै बन्छु’ भन्न थालेकी छ। तपाईँले उसलाई एउटा ठूलो सपना देखाइदिनुभयो, धन्यवाद है!”। उसले भान्जीलाई अङ्ग्रेजी सिकाउन मलाई विशेष अनुरोध गरेको थियो। त्यही मेसोमा हप्ताको दुई-तीन पटक ऊ सानीमाको आँगनमा झुल्किन्थ्यो। कहिले दिदीले पठाएको भन्दै सेलरोटी, बटुक लिएर आउँथ्यो त कहिले तरकारीका मुठाहरू। तर मलाई कता-कता लाग्थ्यो उसको आउने बहाना भान्जीको पढाइ मात्र थिएन।
एकदिन उसले निकै उत्साहका साथ भन्यो, “मिस, मलाई पनि यो ‘इङ्लिस स्पिकिङ’ को निकै रहर छ। बरु भान्जीसँगै मलाई पनि अलि-अलि प्राक्टिस गराइदिनु न है?” मैले हुन्छ भनेँ र आफूले जानेको सिकाउन सुरु गरेँ।
तर समस्या के थियो भने, ऊ शुद्ध अङ्ग्रेजी बोल्न खोज्दा बीच-बीचमा नेपाली शब्दहरू मिसाइहाल्थ्यो। “मिस, टुडेको वेदर त निकै ‘डेन्जरस’ छ है? म त अफिसबाट आउँदा झन्डै ‘स्लिप’ भएको!”
म साहित्यकी विद्यार्थी, जसलाई भाषाको आफ्नै गरिमा हुन्छ भन्ने लाग्थ्यो, मलाई यो ‘नेपाङ्ग्रेजी’ सुन्दा साह्रै झर्को लाग्यो। मैले अलि कडा स्वरमै भनेँ, “लोचन यो त अत्ति भो यार, प्लिज! कि त नेपालीमै बोल्नुपर्यो वा अङ्ग्रेजीमै। यसरी शब्दहरूको कत्लेआम गर्नु भएन। मलाई यस्तो मिसावट सुन्दा कानै खान्छ।” पछि पो झल्यास्स भएँ— मैले त सधैँ लोचनजी भन्नेलाई ‘लोचन’ मात्रै भनेछु अनि ‘यार’ पनि! मैले तत्कालै त्यसको लागि सरी भनेँ। दुवै सँगै हाँस्यौँ मात्र! राति अबेरसम्म म निदाउन सकिनँ, दिउँसोको यो सबै घटनाक्रम दिमागमा आइरह्यो, खोई के भयो भयो।
भोलिपल्ट, उसको अनुहारमा एउटा सानो बालकको जस्तो डर र अलमल झल्कियो। र निकै मधुरो स्वरमा भन्यो, “सरी मिस! म त सिक्न खोज्दै थिएँ, तर तपाईँलाई असजिलो भयो भने अबदेखि नेपालीमै बोल्छु ल?”
उसको त्यो ‘साँचो स्वीकारोक्ति’ ले मेरो मनलाई निकै गहिरोसँग छोयो। अरू कोही भएको भए सायद “यति सानो कुरामा के रिसाएको?” भन्दै मलाई नै घमण्डी साबित गर्न खोज्थे होलान्, तर लोचनले मेरो असन्तुष्टिलाई निकै सम्मानका साथ स्वीकार गर्यो। उसको त्यो निर्दोष अनुहार देख्दा मलाई अलि खिन्न पनि लाग्यो। ऊ कति भद्र थियो— आफ्नो गल्ती हुँदा माफी माग्न नहिच्किचाउने। म उसको विनम्र र इमानदार स्वभावले गर्दा एउटा अनौठो आकर्षण महसुस गर्न थालेकी थिएँ।
त्यो सानो गाउँमा मेरो खासै कोही साथी थिएनन्। दिनभरि स्कुलका केटाकेटीसँग समय बिते पनि साँझपख सानीमाको आँगनमा एउटा शून्ययता छाउँथ्यो। यस्तोमा लोचनको आगमन मेरो लागि दिनभरिको सबैभन्दा रमाइलो समय बन्न थाल्यो। कहिलेकाहीँ ऊ अफिसको कामले लखतरान भएर आउँथ्यो, तर भान्जीको पढाइको कुरा चल्दा उसको अनुहारमा बेग्लै चमक देखिन्थ्यो। घरमा बा र आफन्तहरू मेरो हरेक निर्णयमा संशय गर्थे तर लोचन भने म कसरी यो पहाडसम्म एक्लै आइपुगेँ र यहाँका नानीहरूलाई कसरी पढाइरहेकी छु भन्ने कुरामा चासो राख्थ्यो; म प्रति खुसी मात्र होइन, उसलाई गर्व भएको कुरा उसको अनुहारले नै जनाउँथ्यो। उसलाई कहिल्यै बनावटी प्रशंसा गर्न आउँदैनथ्यो, तर मैले उसको आँखामा सहरका केटाहरूको बनावटी प्रशंसाभन्दा निकै फरक ‘आदर’ देखेँ, जुन मैले पहिले कहिल्यै महसुस गरेकी थिइनँ।
अचम्म त के भने, मप्रति मात्र होइन, उसमा कहिल्यै नभेटेका मेरा पिताजीप्रति पनि उत्तिकै सम्मान थियो। एकदिन उसले सहजै भन्यो, “तपाईँ कति भाग्यमानी मिस! बुबालाई समाजका कुरा सुन्दै तपाईँलाई सहरमा राखेर पढाउन कति गाह्रो भयो होला, तर उहाँले आँट गर्नुभयो। यो कम ठूलो कुरा हो र?” उसको यो कुराले मलाई अवाक बनायो। उसलाई के थाहा म मेरा बाकै कारणले सबै छोडेर यो अनकन्टार गाउँमा बस्नुपरेको! तर लोचनले जानेर होस् वा नजानेर, मलाई शिक्षित बनाउन बाले समाजसँग लड्दै गरेको त्यो ‘अदृश्य विद्रोह’ र मेरो सपनाका लागि उहाँले राखेको जग बुझाइदियो। लोचनले मलाई बाको त्यही ‘धैर्य र साहस’ सँग परिचय गराइदियो, जसलाई मैले आफ्नो आक्रोशका कारण आजसम्म चिन्नै सकेकी थिइनँ। मलाई लोचनको अनुहारको मात्र होइन, संसार हेर्ने उसको यो छुट्टै दृष्टिकोणको लत बस्न थाल्यो। जुन दिन ऊ आउँदैनथ्यो, म बार्दलीमा उभिएर त्यही गोरेटोतिर हेरिरहन्थेँ।
वर्षको अन्त्यतिर स्कुल बिदा हुन लागेको थियो र लोचनको परिवार आफ्नो ‘कुल पूजा’ का लागि पुर्ख्यौली थलो स्याङ्जा गएका थिए। ठ्याक्कै त्यही बेला मलाई कडा ज्वरोले समात्यो। सानीमा आत्तिनुभयो र मलाई उपचारका लागि हतार-हतार बुटवल झार्नुभयो। म अस्पतालमा भर्ना भएको खबर पाएपछि बा गुल्मीबाट आउनुभयो र मेरो स्याहारमा कुनै कसर बाँकी राख्नुभएन।
अलि निको भएपछि बाले निकै अनुनय गर्नुभयो, “नानी, अब एक्लै त्यो पहाडमा फर्केर नबस। केही समय गुल्मी गएर आराम गर, अनि पढाइ सुरु भएपछि फर्के भयो। बरु त्यहीँ कतै नजिकै जागिर खोजौँला।” लोचनका कुराहरूले मनको ढोका खोलिसकेका थिए या बाको प्रत्यक्ष मायाले— उहाँप्रतिको वर्षौँदेखिको गुनासो बिस्तारै मेटिँदै गयो। म दोधारमा परेँ। मनमा पाल्पाको त्यो गोरेटो र उकालो लाग्दै गरेको लोचनको हँसिलो अनुहार अड्किएको थियो, तर बाको आग्रह टार्न नसकेर मैले उहाँसँगै गुल्मी जाने निधो गरेँ।
त्यतिबेला बाले पढाउने स्कुलमा एउटा टेलिफोन थियो। त्यहीँबाट कहिलेकाहीँ सानीमा र सँगै पढाएका साथीहरूसँग आक्कलझुक्कल कुरा हुन्थ्यो। सानीमासँग कुरा गर्दा थाहा पाएँ— लोचन गाउँ फर्किएनछ। ऊ त अङ्ग्रेजी अझै राम्रो बनाउन र ‘ब्रिटिस गोर्खा’ को तयारी गर्न काठमाडौँतिरै लागेछ। मैले स्कुलमा उसकी भान्जीको बारेमा सोधेझैँ गरेर पनि उसको खबर बुझ्ने कोसिस गरेँ। तर डर पनि उस्तै थियो। धेरै सोधखोज गर्दा गाउँलेले शङ्का गर्लान्, के-के सोच्लान, चरित्रमा दाग लगाउलान् भन्ने डरले म धेरै खुल्न सकिनँ। फेरि मलाई कता-कता आशा थियो— यदि लोचनको मनमा पनि मेरो लागि केही थियो भने, कुल पूजा सकेर फर्केपछि मलाई नदेख्दा उसले पक्कै मेरो खोजी गर्नेछ र मलाई खोज्दै गुल्मीसम्म आउनेछ। आखिर गुल्मी र पाल्पा भूगोलले मात्र छुट्टिएका थिए, रिडी तरेपछि त आइहाल्थ्यो; अनि फेरि गाउँमा बाको नाम लिएपछि नचिन्ने कोही थिएन!
तर यही पर्खाइमा बर्खा बित्यो, दशैँ-तिहार आयो। “ऊ दशैँमा त पक्कै घर आयो होला, कतै मलाई खोज्दै रिडी तरेर यता आउँछ कि?”— यही आशमा बाले ल्याएका बिहेका कति प्रस्तावहरू अनेकन बहाना बनाएर टार्दै गएँ। फेरि हिउँद आयो; मलाई अझै पढ्ने रहर थियो अनि बालाई मेरो घरजम देख्ने इच्छा। अन्ततः, मैले मागी विवाह स्वीकार गरेँ र श्रीमानसँग काठमाडौँ सरेँ।
समयले अर्कै मोड लियो। मेरो वैवाहिक सम्बन्ध धेरै कारणले टिक्न सकेन, म छोरी लिएर उहाँसँग अलग भएँ।
त्यसपछिको दिनमा बाले बाँचुन्जेल सक्दो सहयोग गर्नुभयो, म मेरो जिन्दगी छोरीको मुख हेर्दै अगाडि बढाइरहेँ।
आज बेइजिङको प्रतिष्ठित विश्वविद्यालयबाट पीएचडी सकेकी छु। छोरी मेरो ‘ग्रयाजुएसन क्याप’ सँग खेलिरहेकी छे। आज बा जीवित भइदिनुभएको भए मप्रति कति गर्व गर्नुहुन्थ्यो होला! जसरी म आज उहाँप्रति गर्छु, अनि सम्मान गर्छु।
यही खुसीका बीच मलाई फेरि लोचनको याद आयो। यहाँको वातावरणमा ठ्याक्कै त्यही दोभान गाउँको आभास छ— क्षितिजसम्म फैलिएको उस्तै नीलो आकाश र टाढाका ती पहाडहरू। नजिकैको उकालो, सल्ला जस्तै लाग्ने रुखका घारी, अनि अहिले त झन् फुलेका आरूका फूलहरू। ती रङ्गीन साना चराहरूले मलाई वर्षौँअघिको त्यो सानीमाको आँगनमा पुर्याइदिन्छन्, जहाँ लोचन पहिलो पटक “छ्यामा हुनुहुन्न?” भन्दै आइपुगेको थियो।
हामी आमा-छोरीको तस्बिर खिचिदिँदा त्यो होचो मान्छे बडो प्रेमिल भावमा मुस्कुराइरहेको थियो। तस्बिर खिचिसकेपछि मैले उसलाई धन्यवाद दिएँ। उसले जवाफमा केही बोलेन, मात्र एउटा अर्थपूर्ण मुस्कानका साथ मलाई ‘बधाई’ दियो र अगाडि बढ्यो अनि एकै छिनमा विश्वविद्यालयको विशाल भिडभित्र ओझेल पर्यो। अहिले टाढाबाट उसलाई भिडमा ओझेल हुँदै गरेको देख्दा मेरो मुटु ढक्क भयो— ऊ त ठ्याक्कै लोचन जस्तै देखिन्थ्यो! म सटल बसको सिटमा बसेर झ्याल बाहिरका ती पैयूँका फूलहरू हेर्दै गर्दा फेरि विगतकै गहिराइमा पुगेँ। बुटवलको साँघुरो कोठा, बाको विवशता, सानीमाको अगेनो र लोचनसँगको पहिलो संवाद… सबै कुरा आँखाअगाडि फिल्मझैँ घुम्न थाले ………फिलिलि फिलिलि।
लाग्छ, समयले उसलाई पनि त बुढो बनायो होला। उसको आफ्नै संसार होला, माया गर्ने श्रीमती र मेरी छोरी जस्तै प्यारा छोराछोरी होलान्। उसलाई भेटेर एउटै कुरा भन्ने तीव्र इच्छा छ— आज म पनि आफ्ना बाप्रति त्यत्तिकै गर्व गर्छु, जति उसले भन्ने गर्थ्यो। बा जीवित हुँदा उहाँप्रति आफ्नो कृतज्ञता देखाउने मौका त पाइनँ, तर लोचनलाई भने भेटेर ‘धन्यवाद’ भन्न मन छ। किनकि उसले मभित्र जगाइदिएको त्यो आशा र प्रेरणाकै कारण आज म यो स्थानसम्म आइपुग्न सफल भएँ।
सटल बसको रफ्तारमा पनि मेरा आँखाहरूले भ्याएसम्म बाहिरको भिडमा त्यही चिम्सो आँखा र अर्थपूर्ण मुस्कान भएको मान्छेलाई खोजिरहेकी छु। म परैबाट उसलाई नियालिरहेकी छु— यो पक्का गर्न कि मेरो स्मृतिमा बाँचेको त्यो ‘लोचन’ जसलाई मैले वर्षौँअघि दोभानको गोरेटोमा छोडेर आएकी थिएँ र मेरो अगाडि उभिएको यो मान्छे कतै एउटै त होइनन्?
र मुख्य कुरा यो भन्न मन छ- लोचन, म तिमीलाई माया गर्थेँ नि!


