संखुवासभा– संखुवासभाको हेवा खोलामा शनिबार राती आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ। गए राती आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ। शनिबार राती वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढीले चैनपुर–४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका १७ जना बेपत्ता भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।
बेपत्ता हुनेमा सुपर हेवा हाइड्रोपावरका सुपरभाइजर सन्तोष ढकाल (सुनसरी), भुवनसिंह तामाङ (चैनपुर नगररपालिका), सुवास राई ( संखुवासभा), फैजबहादुर कार्की (झापा), गणेश गिरी (धनकुटा), राजकुमार मगर (इलाम), मीना श्रेष्ठ (झापा), रामजतन थारु (कैलाली), राहुल थारु (बर्दिया), रोहित थारु (बर्दिया), पुलसन थारु (बर्दिया), कालीराम थारु (बर्दिया), राजराम थारु (बर्दिया), सुगत थारु (कैलाली), अमर थारु (कैलाली), सीता थारु (कैलाली) र दीपक मगर (संखुवासभा) छन्।
त्यस्तैगरी सभापोखरी गाउँपालिका–३ सुनाम्लामा गोठ बगाउँदा ६० वर्षीय गणेश राई र ६१ वर्षीया सञ्चमाया राई बेपत्ता भएका छन्। चैनपुर नगरपालिका–१ नुनढाकीमा बर्दिया नगरपालिकाका भीम चौधरी, अप्पर हेवाखोला हाइड्रोपावरका मजदुर चैनपुर नगरपालिका–४ का ५० वर्षीय ज्ञानबहादुर लिम्बू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने दुई जना मजदुर घाइते भएका छन्। घाइते हुनेमा बर्दिया नगरपालिका–७ का २४ वर्षीय टीकाराम चौधरी र ३५ वर्षीय दीपकराज थारु छन्। गम्भीर घाइते दुवैको हेल्पिङ हेन्स सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको छ। चैनपुर नगरपालिका ४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो।
बाढीले जिल्लाका विभिन्न स्थानमा सात घर क्षति भएको छ भने अन्य चार घरमा क्षति पुगेको प्रहरीले जनाएको छ। बाढीले तीन पक्की पुलमा क्षतिग्रस्त बनाएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन्। बाढीले भौतिक संरचना बगाउँदा करोडाँैको क्षतिको भएको छ। घटनाको थप विवरण आउन बाँकी छ।
मैवाखोला बाढीपहिरो : उद्धारमा सास्ती
कोसी प्रदेशले बाढीपहिरोबाट ज्यान गुमाएका परिवारलाई तत्काल १ लाख राहत उपलब्ध गराउने भएको छ। आइतबार साँझ बसेको कोसी प्रदेश विपद् व्यवस्थापन सममितिले बाढीपहिरोबाट ज्यान गुएमाएको परिवारलाई १ लाख दिन निर्णय गरेको हो।
कोसी प्रदेश खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बोले बाढीपहिरो प्रभावित केही जिल्लाको निरीक्षण गरेपछि प्रदेश सरकारको विपद् व्यवस्थान समितिको बैठकले मृतक परिवारलाइ राहतस्वरुप १ लाख प्रदान गर्ने निर्णय गरेको मन्त्री मेन्याङ्बोको सचिवालले जनाएको छ। घाइतेको उपचार गर्ने, भौतिक संरचना (घर) पुनःनिर्माणको लागि सहयोग गर्ने, बगाएका, भत्किएका पुल यथाशीघ्र मर्मत र निर्माण गरी अवरुद्ध बाटो तथा राजमार्ग तत्काल खुलाउन पहल गर्ने निर्णय गरेको मन्त्री मेन्याङ्बो बताए।
५१ घर उच्च जोखिम
निरन्तर वर्षासँगै आएको बाढीपहिरोले ताप्लेजुङमा मानवीय क्षति हुनुका साथै विभिन्न संरचारको पूर्ण रुपमा क्षति भएको छ। निरन्तर वर्षासँगै बाढीपहिरोले ताप्लेजुङमा ठूलो क्षति गराएको हो। शनिबार राती गएको बाढीपहिरोले ताप्लेजुङको सिदिङवा–५ मेहेलेमा एक युवकको मृत्यु भएको छ। तीन जना भने बेपत्ता रहेका छन्। बेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
पहिरोमा परी मैवाखोला गाउँपालिकामा एक जना घाइते भएका छन्। उनको उपचार भइरहेको छ। सिरिजंघा गाउँपालिकामा ७ घर, सिदिङवा गाउँपालिकामा २१ घर, मैवाखोला गाउँपालिकामा २१ र पाथीभरा याङवरक गाउँपालिका एक गरी ५१ घर परिवार उच्च जोखिम रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
यस्तै, सिरिजंघामा एक, सिदिङ्वामा एक र मैवाखोलामा एक गरी तीन पक्की मोटरेबल पुल पूर्णरुपमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। ताप्लेजुङको विभिन्न क्षेत्रमा पाँच वटा झोलुंगे पुल बाढीले बगाएको छ। पुल बगाएसँगै एक ठाउँबाट अर्को ठाउँमा जान समेत बन्द भएको छ।
सिदिङवा, मैवाखोला र सिदिङवा गाउँपालिकामा गाई पाँच, भैँसी दुई बाख्रा आठ बाढीले बगाएको जिल्ला प्रशासशन कार्यालय ताप्लेजुङले जनाएको छ। सिरिजंघामा चार, सिदिङवामा चार र पाथीभरा याङ्बरकमा एक गरी ९ घर पूर्णरुपमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले बताएको छ।
सिदिङवामा एक र सिरिजंघामा एक गरी दुई विद्युत्गृह पूर्णरुपमा क्षति भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सिरिजंघा–८ याम्फुदीनमा र ७ खेवाङमा गरी सात सरकारी कार्यालय पूर्ण रुपमा क्षति भएका छन्। सिरिजंघा–८ मा सञ्चालन रहेको एक क्रसर उद्योगसमेत बाढीले बगाएको छ। त्यस्तै, एक कुखुरा फार्म पूर्ण रुपमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जनाएको छ।सिरिजंघा–८ याम्फुदीनमा एक सामुदायिक विद्यालयसमेत बाढीले बगाएको समितिले जनाएको छ।
उद्धारमा सास्ती
ताप्लेजुङमा आइतबार आन्तरिक तथा बाह्य यातायातका साधन सञ्चालन हुन सकेका छैनन्। निरन्तर वर्षासँगै विभिन्न क्षेत्रमा बाढीपहिरोले सडक अवरुद्ध भएपछि यातायात ठप्प भएसँगै बेपत्ताको खोज तथा उद्धारमा सास्ती भएको हो।
मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोला माथिको पुल बगाएपछि ताप्लेजुङ, पाँचथर, इलामसहित तराईका जिल्लातर्फ जाने सवारी साधन सदरमुकाममा थन्किएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कुशुराम कार्कीले बताए।
तमोर नदीसहित तमोर करिडोरअन्तर्गतका खोलामा बाढी आएकाले उक्त तमोर करिडोरको सडकसमेत अवरुद्धएकाले छोटो र लामो दूरी छुट्ने सवारी साधन ताप्लेजुङदेखि छुट्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी प्रवक्ता कार्कीका अनुसार बिहीबार राति आएको बाढीले मेहनले र खेवाङ जोड्ने पुल भत्काएको छ। अविरल वर्षासँगै गए राती मैवाखोलामा आएको बाढीले दोभान बजार हुँदै आठराई त्रिवेणी जाने सकड बगाएको छ। सडक अवरुद्ध भएकाले पहिरोग्रस्त क्षेत्रमा सदरमुकामबाट राहत र उद्धारका लागि जानसमेत कठिनाइ भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन्।
व्यवस्थापन समितिकाका अनुसार दोभान बजार क्षेत्र मैवाखोलामा आएको बाढीले कटान गर्न थालेपछि आधाजसो परिवार मध्यरातमै सुरक्षित स्थानमा सरेका छन्। सिरिजंघाको याम्फुदिनमा काबेली खोलामा आएको बाढीले बस्ती कटान गरिरहेको छ।
उक्त ठाउँका पाँच सरकारी कार्यालयसहित १५ परिवार अन्यत्र सरेका छन्। विभिन्न क्षेत्रका जलविद्युत् आयोजनामासमेत बाढीपहिरोले क्षति पुगेको छ। विद्युत् आपूर्ति बन्द भएको छ। गए राती ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, पाँचथरलगायत जिल्लामा बाढीपहिरोले सडक र पुलमा क्षति पुग्दा करिब ५० करोड रकम बराबरको क्षति भएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रलायले जनाएको छ।



