काठमाडौँः काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल ले वडाबाट केन्द्रमा आएका सबै फाइल एक साताभित्र शून्य बनाउन निर्देशन दिएकी छन्। महानगरको पाक्षिक समीक्षा कार्यक्रममा उनले विभागीय प्रमुखहरूलाई प्रक्रिया पूरा भएका फाइल तत्काल स्वीकृत गर्न र अपूर्ण फाइल कारणसहित फिर्ता पठाउन निर्देशन दिएकी हुन्।
उनले बजेट कार्यान्वयनमा गुणस्तर कायम गर्न नसकिने अवस्था भए त्यस्ता योजना अघि नबढाउन वडा सचिवहरूलाई समेत सचेत गराइन्। डङ्गोलले बेरुजु घटाउने, राजस्व संकलन प्रभावकारी बनाउने, सार्वजनिक जग्गाको अभिलेखीकरण व्यवस्थित गर्ने तथा पूर्वाधार निर्माणमा गुणस्तर कायम गर्न जोड दिइन्। रातको समयमा सडकबत्ती ननिभ्ने व्यवस्था मिलाउन र भू–प्रशासनलाई चुस्त बनाउन पनि उनले निर्देशन दिइन्।
वित्त विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार हालसम्म महानगरको कुल खर्च ४०.९४ प्रतिशत र वडाहरूको औसत खर्च ३९.३ प्रतिशत पुगेको छ। महानगरले वडालाई ठूला, मझौला र साना वर्गमा विभाजन गरी क्रमशः १० करोड, ७ करोड ५० लाख र ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ।


