काठमाडौँ: व्यावसायिक घराना गोल्याण ग्रुपले बुद्धको जन्मभूमि लुम्बिनीमा बनाइरहेको पाँचतारे होटल ‘हायात रिजेन्सी’ को लागत ६६ प्रतिशत बढेको छ। हायात रिजेन्सीको लागत बढेर ६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। यसअघि होटल बनाउन चार अर्ब रूपैयाँ लागत अनुमान गरिएको थियो।
निर्माणका क्रममा लागत दुई अर्ब ६६ करोड रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ। लागत बढेपछि होटलको ऋण र स्वपुँजी (इक्विटी) संरचना परिवर्तन भएको छ। जसअनुसार ६७ प्रतिशत ऋण र बाँकी ३३ प्रतिशत स्वपुँजी लगानी हुने भएको छ। यसअघि ७५ः२५ प्रतिशत लगानी संरचना बनेको थियो।
चार अर्ब ५० करोड रुपैयाँ ऋणको अंश र दुई अर्ब ८० करोड रुपैयाँ बाँडफाँड गरिएको छ। अन्तिम मूल्यांकन समीक्षाको समयमा दुई अर्ब पाँच करोड रुपैयाँ बाँडफाँड गरिएको थियो। अझै एक अर्ब ७० करोड रुपैयाँ बाँडफाँडको प्रक्रियामा रहेको छ। होटलको प्रारम्भिक चरणलाई ध्यानमा राख्दै निर्धारित लागत भित्र समयमै परियोजना कार्यान्वयनसँग सम्बन्धित जोखिमहरू रहेका छन्।
होटलले भौतिक परिवर्तन गरेको छ। संशोधित विकास योजनाले प्रिमियम कोठाहरूको उच्च अनुपात र विवाहको गन्तव्यका लागि समर्पित हुने गरी थप पूर्वाधार विकास गर्न लागेको होटलले जनाएको छ। पूर्वाधार पहिलेको योजनाको तुलनामा लगभग ६९ प्रतिशत वृद्धि भएको छ।
काठमाडौँपछि लुम्बिनीमा ४ अर्बको पाँचतारे होटल ल्याउँदै गोल्याण ग्रुप, ‘वेडिङ डेस्टिनेसन’ बनाइने
होटल सन २०२८ को जनवरीदेखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने तयारी छ। होटलको व्यवस्थापन हायात इन्टरनेसनले साउथ वेस्ट एसिया लिमिटेड (एचएमए) ले हेर्ने भएको छ। गोल्याण र हायातबीच होटल व्यवस्थापनको सम्झौता भइसकेको छ। वेद हस्पिटालिटी ‘हायात रिजेन्सी’ ब्राण्डमा सञ्चालन हुने भएको छ। एचएमएको माउ कम्पनी हायात होटल्स कर्पोरेसन हो।
प्रस्तावित होटलमा १७७ कोठा हुनेछन्। पछि विस्तार गरेर दुई सय कोठा बनाइने वेद हस्पिटालिटीले जनाएको छ। होटलमा स्विमिङ पुल, कन्फरेन्स हल, ब्याँकेट,स्पा, फुड एन्ड बेभरेजलगायत सबै किसिमका अत्याधुनिक सेवाहरू हुने भएको छ। होटल पूर्वाधार लुम्बिनीको मायादेवी गाँउपालिकामा छ।
पहिलो चरणमा २ सय अत्याधुनिक कोठाहरूका साथै रेष्टुरेन्ट, स्विमिङ पुल, स्पा, क्यासिनो सञ्चालनमा ल्याउने योजना छ। त्यसपछि थप पूर्वाधार तयार पारेर अन्य सुविधा थप्ने योजना ग्रुपको छ।
होटल भैरहवा विमानस्थलबाट ८ किलोमिटर दूरीमा छ। होटल भारतको उत्तर प्रदेशको नौतुनवा रेल्वे स्टेशनबाट ३८ किलोमिटर दूरीमा छ।
ग्रुपको गोल्याण होटल लिमिटडले वेद हस्पिटालिटमार्फत उक्त होटल निर्माण थालेको हो। अनुभवी प्रवर्द्धकहरू र हायात ब्रान्डसँगको सम्बन्धले होटल परियोजनाले लामो अवधिमा यो वृद्धिबाट लाभ उठाउने अपेक्षा गरिएको छ।
बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै धार्मिक रूपमा परिचित छ। उत्तर प्रदेश र बिहारका छिमेकी भारतीय राज्यहरूमा कडा नियमहरू लगाएका छन्। भारतीय सिमाना नजिकको गन्तव्य भएकाले होटल नेपालका लागि कर्पोरेट बैठक, क्यासिनो र विवाह गन्तव्यहरूको लागि पनि आकर्षक विकल्प बन्ने देखिएको छ।
भैैरहवा क्यासिनोको लागि रुचाइएको स्थान हो। वेदलाई उच्चस्तरीय मनोरञ्जन र वैवाहिक गन्तव्य (वेडिङ डेस्टिनेसन) पाँचतारे होटलको रूपमा प्रवर्द्धन गर्ने योजना वेद हस्पिटालिटीको छ।
ग्रुपले वेद हस्पिटालिटीको स्थापना सन् २०२२ को डिसेम्बरमा गरेको हो। होटल २ लाख ९१ हजार ७९१ स्क्वायर फिट क्षेत्रमा फैलिने छ। गोल्याणले राजधानीको सोल्टिमोडमा पाँचतारे स्तरको ‘हायात सेन्ट्रिक’ होटल सञ्चालन गरिरहेको छ।
पछिल्ला वर्षहरूमा ठूला व्यावसायिक समूहहरू होटल तथा हस्पिटालिटी उद्योगमा आक्रामक रूपमा लगानी गरिरहेका छन्। जलविद्युत, उत्पादन, कृषि, बैंकिङ र व्यापारजस्ता क्षेत्रमा लगानी विस्तार गरिरहेको गोल्याण ग्रुपले पनि आतिथ्य व्यवसायमा आफ्नो उपस्थिति तीव्र रूपमा बढाइरहेको छ।
कोरोना कालमा ग्रुप सन् २०२१ नोभेम्बरदेखि राजधानीमा पाँचतारे स्तरको सिटी होटल सञ्चालनमा ल्याइसकेको हो। होटलमा १५३ कोठाहरू रहेका छन्। सिटी होटल पनि हायातले व्यवस्थापन हेर्दै आएको छ।
हायातको २० वटा प्रिमियर ब्राण्डका साथै ७६ मुलुकहरूमा १ हजार ३ सय होटल रहेका छन्। हायात सेन्ट्रिक होटल पाँच अर्ब रूपैयाँ लगानीमा निर्माण भएको थियो। १४ तलाको होटलमा १५३ कोठा छन्।
नेपाल राष्ट्र बैंककाअनुसार होटल क्षेत्रमा मात्रै बैंक तथा वित्तीय संस्थाहरुले दुई खर्ब २५ अर्ब रुपैयाँ लगानी गरेका छन्।


