काठमाडौं–गत वर्ष फागुनदेखि माओवाद अनुशरण गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको टेको दिइरहेको सत्तारुढ कांग्रेसभित्र अहिले पनि संस्थापन पक्ष र संस्थापन इतर समूहबीच ननिको देखिँदै आएको छ। यसको पछिल्लो उदाहरण हिजो मात्रै कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको सातौं महाधिवेशनमा खुलस्तै देखियो। महाधिवेशनमा भाषण गर्न निम्त्याइएका महामन्त्री गगन थापा र शेरबहादुर देउवाका विश्वासपात्र रक्षामन्त्री एवं कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रको तुष बाहिर ल्याएका हुन्। कावा सभापति खड्काले अर्कालाई औंला ठड्याएर पार्टीमा रुपान्तरण सम्भव नरहेको हाकाहाकी गगनलाई सुनाए।
कावा सभापति खड्का बोलीले पार्टीभित्र अझै पनि गगनहरुको भाउ छैन भन्ने संकेत गरेको छ। उनले आफ्ना कमजोरी र गल्ती सच्याएर अघि बढ्न सके मात्रै रुपान्तरण सम्भव भएको तर पार्टी पदाधिकारीलाई गाली गरेर जग हँसाउनु कुनै तुक नभएको दाबी गरे। खड्काले पार्टी र सरकारलाई जीवित बनाउने काम केन्द्रदेखि वडा तहका नेताहरुको रहेकाले सधैं गाली गरेर मात्रै संगठन बलियो हुन नसक्ने औंल्याए। सबैले निष्ठाको संकल्प लिएर पार्टीलाई उभो लगाउनुपर्ने बताए पनि खड्काले नेतृत्वबाट भइरहेका काम ठीक ठाउँमा रहेको भन्न छुटाएनन्। पार्टीमा समयसापेक्ष बदलाव आउने हुँदा कसैले भन्दैमा नेतृत्वले राजीनामा दिइहाल्नुपर्ने जरुरी नभएको बताए। केही दिनअघि महामन्त्री गगनले कांग्रेसलाई गति दिने भए सभापति देउवाले विश्राम लिनुपर्ने सुझाएका थिए। त्यसको जवाफ मञ्च खड्काले प्रज्ञा भवनमा दिएका हुन्।
खड्काले भने, ‘मेरा कमजोरी र गल्तीलाई सच्याएर, स्वीकारेर म रुपान्तरणका लागि तयार हुने कि नहुने? रुपान्तरण हुने हो। व्यवहारतः जीवनशैलीमा निर्णय शैलीमा, काम गर्ने शैलीमा। सबै शैलीमा म रुपान्तरण हुनतयार हुने हो। सच्याएर रुपान्तरण हुन तयार हुने भएपछि मात्रै चाहे मुलुकको होस् रुपान्तरणको प्रक्रिया सुरु हुन्छ, चाहे पार्टीको होस्। रुपान्तरण प्रक्रिया सुरु हुन्छ। पार्टी पनि निर्जीव छ, सरकार पनि निर्जीव छ, त्यसलाई जीवित बनाउने भनेको पार्टीमा नेतृत्व लिने केन्द्रदेखि वडा टोलसम्मका नेताहरुको निर्णय प्रक्रिया, काम गर्ने प्रक्रिया जीवनशैली, प्रक्रियाशैली सबै कुरामा निर्भर रहन्छ। कसैले भन्दैमा नेतृत्वमा रहेकाहरुले विश्राम लिनुपर्छ भन्ने हुँदैन।’ खड्काले अरुलाई ठड्याउने औंला आफैंतिर ठड्याउन महामन्त्री गगनलाई सुझाए। ‘पार्टीभित्र सुधार परिमार्जन, पुनः निर्माण, रुपान्तरण बदल्ने सबै कुरालाई गर्छु भन्नेहरुले पहिला आफैंबाट थाल्नुपर्छ। अरुलाई यो–यो गर भन्ने होइन। त्यति भएपछि पार्टीमा समयसापेक्ष बदलाव आउँछ’, खड्काले भने।
कार्यक्रममा महामन्त्री थापाले देश बदल्न सबैभन्दा पहिला कांग्रेस बदल्न आवश्यक भइसकेको सुनाए। उनले कांग्रेस अहिले जसरी चलेको छ, त्यसरी नै चल्ने हो भन्ठाने दुर्घटनामा जाने दिन नजिक आउने दाबी गरे। कांग्रेसलाई दुर्घटनाबाट बचाउन पार्टीलाई फरक ढंगमा चलाउनुपर्ने जिकिर महामन्त्री गगनको थियो।
‘कांग्रेसले देश बदल्दैन भनेर युवा विदेशीयको चिन्ता मानेर, देश बदलिन्छ भन्ने आत्माविश्वास लिएर जाँदा देश बदलिन्छ तर देश बदल्न कांग्रेसले आफूलाई बदल्छ। बदलेको कांग्रेसले मात्रै देश बदल्न सक्छ,’ उनले भने, ‘कांग्रेस अहिले जसरी चलेको छ। त्यसरी नै चल्ने हो। ठीक भएर चलेको छ भनेर मान्दैनौं भने कांग्रेस दुर्घटनामा जान्छौं। हामी जसरी चलिरहेका छौं। योभन्दा भिन्न ढंगबाट चल्नुपर्छ। चल्न सक्छौं। कांग्रेसलाई आवश्यकताअनुसार बदल्न सक्छौं।’
पार्टीभित्र झगडा भइरहे मुलुक थप १५ वर्षपछि धकेलिने उनले बताए। नेतृत्वलाई सम्हालिन र विधानअनुसार चल्न आग्रह गर्दा संस्थापन पक्षधरले आफूमाथि औंला ठड्याइरहेको आरोप गगनले लगाए। ‘कहिलेकाहीँ जग बदल्नुपर्छ। कहिलेकाहीँ झ्यालबाट बदल्नुपर्छ। धुरी नै फाट्यो भने पनि त्यो बदल्नुपर्छ। जे कुराको समस्या हुन्छ, त्यो बदल्नुपर्छ। त्यो बदल्दै ठीक बनाएर जाने हो,’ उनले भने, ‘कांग्रेस हाम्रो घर हो। हाम्रो जीवन लागेको छ।


