काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले आरोपी राजभण्डारीविरुद्ध ३ करोड ५६ लाख ७७ हजार तीन सय ४६ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलिया जानकारी दिए।
३० फागुन २०५१ मा सार्वजनिक सेवामा प्रवेश गरेका राजभण्डारीले ३१ भदौ २०७९ मात्रै सेवाबाट अवकाश पाएका थिए। आयोगका अनुसार राजभण्डारीको वैधानिक आय पारिश्रमिक बचत, उनकी श्रीमतीको पारिश्रमिक बचत, उपदान, दैनिक भ्रमण भत्ता तथा स्थानीय भत्ता, बिमा परिपक्व भई प्राप्त भएको आय, सेयर बिक्रीबाट प्राप्त आय गरी ३ करोड ८५ लाख ५१ हजार ७४० बराबर रहेको छ।
सो अवधिमा राजभण्डारीले ७ करोड ४२ लाख २९ हजार ८६ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ। त्यसमध्ये ३ करोड ५६ लाख ७७ हजार ३४६ बराबरको रकमको वैधानिक स्रोत पुष्टि हुन नसकेको पाइएको आयोगले जनाएको छ।
सिँचाइ विभागका महानिर्देशकसमेत रहेका राजभण्डारीले सार्वजनिक दिनमा रहेर पदको दुरुपयोग गरी गैरकानुनी रुपमा आर्जन गरेको पाइएको र त्यस्तो सम्पत्ति श्रीमती दीपा श्रेष्ठको नाममा जग्गा खरिद गरेको, घर निर्माण गरेको तथा विभिन्न कम्पनीमा लगानी गरेको पाइएको छ। आरोपी राजभण्डारी र उनकी श्रीमती दीपाको नाममा रहेको सम्पत्ति जफतको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए।
