काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्षको आयव्ययको विवरण संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छन्। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीअनुसार बैठक बेलुका ४ बजे बस्नेछ।
नेपालको संविधानमा प्रत्येक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्थाअनुसार सदनमा आयव्ययको विवरण पेस हुन लागेको हो।
१८ खर्ब ९० अर्बदेखि २० खर्ब रुपैयाँसम्मको बजेट प्रस्तुत गर्ने तयारीमा सरकार रहेको अर्थ मन्त्रालयका एक जना वरिष्ठ अधिकारीले जानकारी दिएका छन्। सुशासन र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर बजेट सार्वजनिक हुने उनको भनाइ छ।
बजेटमार्फत् सरकारले ठूलो संख्यामा कर्मचारी कटौती गर्ने तयारी गरेको छ। अनिवार्य अवकाश पाउने गरी निजमती विधेयक संशोधन गरेरक करिब १२ हजार कर्मचारी कटौती गर्ने तयारी अर्थमन्त्री वाग्लेले गरेका छन्।
अर्थमन्त्रालय स्रोतका अनुसार बजेटमा ५५ वर्ष वा ३० वर्ष सेवा अविधि पूरा गरेपछि अनिवार्य अवकाश पाउने गरी निजमती विधेयक संशोधन गर्ने घोषणा गर्न लागिएको हो। हालको प्रावधानअनुसार केही क्षेत्रबाहेक कर्मचारीहरू ५८ वर्षे उमेर वा ३० वर्ष सेवा अवधिमा अनिवार्य अवकाशमा जाने व्यवस्था छ। सरकारी कर्मचारीले २० वर्षे सेवा अवधि पूरा गरेपछि आजीवन पेन्सन पाउने गरेका छन्।
कर्मचारी कटौतीले सरकारी खर्च कटौती हुने अपेक्षा गरिएको छ भने यसले पेन्सन दायित्व भने बढाउने छ।


