काठमाडौँ- ईसेवा मनी ट्रान्स्फर र सिंगापुरको लुलु मनीबीच रेमिट्यान्स भुक्तानी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा ईसेवा मनी ट्रान्सफरको तर्फबाट निर्देशक डेनियल डी श्रेष्ठ र लुलु मनीको तर्फबाट, लुलु फाइनान्सियल होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत रिचर्ड एम वासनले हस्ताक्षर गरेका छन्।
यो सम्झौतासँगै विदेशमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले लुलु मनीको शाखामा गई वा वेबसाइट र मोबाइल एप प्रयोग गरेर नेपालमा ईसेवा मनी ट्रान्स्फर मार्फत रेमिट्यान्स पठाउन सक्ने छन्।
लुलु मनीबाट पठाएको रेमिट्यान्स ईसेवा मनी ट्रान्स्फरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तिय संस्थाहरु साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ।
यसका साथै पठाएको नगद सोझै ईसेवा वालेटमा प्राप्त गरी अतिरिक्त ७७ रुपैयाँ बोनस समेत प्राप्त गर्न सक्ने ईसेवा मनी ट्रान्सफरले जनाएको छ। ईसेवा मनी ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले रेमिट्यान्स पठाउन थप सहज हुने विश्वास व्यक्त गरे।
लुलु मनी सिंगापुरकी कार्यकारी निर्देशक प्याट्रिसिया चुआले ईसेवा मनी ट्रान्स्फरसँग साझेदारीले आफूलाई खुशी लागेको बताइन्। ईसेवा मनी ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ईसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ।
लुलु मनी विश्वसनीयता र विप्रेषण करोबारको सुरक्षाका लागि प्रसिद्ध छ। कम्पनीले विश्वभरि लाखौं मानिसहरूलाई छिटो र सहज रूपमा पैसा पठाउन र प्राप्त गर्न सहयोग गर्दै आएको छ।


