काठमाडौं। व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले बनेपमा सवदाह गृह निर्माण गरेका छन्। बनेपा नगरपालिकामा निर्माण गरिएको ‘रोटरी वातावरणमैत्री शवदाह गृह’ एक विशेष समारोहबीच हस्तान्तरण गरिएको छ। वातावरण संरक्षण तथा मर्यादित अन्तिम संस्कार संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको उक्त शवदाह गृह शुक्रबार बनेपामा औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
स्वर्गीय हजुरबुवा लालप्रसाद प्रधान, हजुरआमा समकुमारी प्रधान, पिता हिरालाल प्रधान तथा माता सन्तुदेवी प्रधानको स्मृतिमा नेपाल अभिवृद्धि केन्द्रद्वारा स्वदेशमै निर्माण गरिएको शवदाह गृह रोटरियन इन्जिनियर ज्ञानेन्द्रलाल प्रधानको अग्रसरतामा सम्पन्न भएको हो।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को पहलमा आयोजित हस्तान्तरण समारोहमा प्रमुख अतिथिका रूपमा डिस्ट्रिक्ट गभर्नर रोटरियन विनोद कोइराला उपस्थित थिए। कार्यक्रममा वरिष्ठ चिकित्सक तथा समाजसेवी डा. मनोहरलाल श्रेष्ठ, मिस नेपाल लुना लुइँटेल (२०२५), बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
बनेपा नगरपालिका, काठमाडौं रोटरी क्लब तथा रोटरी क्लब अफ बनेपाको संयुक्त सहकार्यमा सम्पन्न परियोजनाले परम्परागत दाहसंस्कारका क्रममा हुने काठको अत्यधिक प्रयोग न्यूनीकरण गर्नुका साथै वातावरणीय प्रदूषण नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
आधुनिक प्रविधिमा आधारित उक्त शवदाह गृहले वातावरणमैत्री, व्यवस्थित तथा सम्मानजनक अन्तिम संस्कार सेवाको विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमका वक्ताहरूले वातावरण संरक्षण र दिगो विकासका लागि यस्ता परियोजनाहरू स्थानीय तह र समुदायबीचको सहकार्यको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा वातावरणीय अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
आयोजकले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने स्थानीय समुदाय, दातृ संस्था तथा सहयोगी व्यक्तिहरूप्रति आभार व्यक्त गरेको छ। परियोजना विशेषगरी आरण्य नेचर रिसोर्टको सौजन्य तथा स्थानीय सरोकारवालाहरूको सक्रिय सहकार्यमा सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ।
व्यवसायी प्रधान तथा उनको परिवारले विद्युतीय शवदाह गृह बनाउन १० करोड रुपैयाँ दान दिने भएको छ। विभिन्न १० स्थानमा शवदाह गृह बनाउन व्यवसायी प्रधानको परिवारले सो रकम दिएको हो।
ज्ञानेन्द्रलालका साथै डा. बिमला प्रधान, नमिता प्रधान, चेतन प्रधान र अबनभ जोशीले ट्रस्टमार्फत सो रकम दान गर्ने भएका छन्। सोही ट्रस्टमार्फत १० देखि १२ करोड रुपैयाँ दान गर्ने योजना रहेको प्रधानले बताएका थिए।
अहिलेसम्म विभिन्न स्थानमा आधा दर्जन शवदाह गृह बनाउने काम सुरु भइसकेको छ। प्रधानले सामाजिक उतरदायित्व (सिआरएस) अन्र्तगत सो रकम शवदाह गृह बनाउन दान गर्ने घोषणा गरेका हुन् ।
प्रधानको जलविद्युत, सेयर र पर्यटन र उत्पादनमूलक क्षेत्रमा लगानी रहेको छ।
