काठमाडौँ- सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनामा परेको छ। बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका वडा नम्बर १ मा मन्त्री सिंह चढेको गाडी दुर्घटनामा परेको बझाङ प्रहरीले जानकारी दिएको हो।
सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।
दुर्घटनामा परेका मन्त्रीसहितलाई उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पठाइएको छ। मन्त्री सिंहलाई ऋतु पोलिक्लिनिकमा भर्ना गरिएको छ। उनको खुट्टा र अनुहारमा चोट लागेको छ।
दुर्घटनामा घाइते भएका थप तीन जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ।
मन्त्री सिंहलाई थप उपचारका लागि अन्यत्रै लैजाने तयारी भइरहेको केदारस्युँ गाउँपालिकाका प्रमुख गणेश बहादुर बोहराले जानकारी दिए।
यससम्बन्धी थप विवरण प्राप्त हुन बाँकी छ।



