कोहलपुर- सडक दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहसहित तीन जनाको मृत्यु भएको छ। बझाङको केदारस्युँ गाउँपालिका-१, धारछडामा भएको जीप दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृता र नातामा भाउजू पर्ने जयादेवीसमेतको मृत्यु भएको हो।
सडक दुर्घटनामा परी पाँच जना घाइते भएका थिए। रायल प्राथमिक स्वास्थ्य केन्द्र देउराका डा अरविन्द्र अधिकारीका अनुसार दुर्घटनामा घाइते भएकी मन्त्रीपत्नी अमृता र भाउजु नाता पर्ने जयादेवीको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ल्याउँदा बाटोमै मृत्यु भएको हो।
दुर्घटनामा परी गम्भीर घाइते भएका मन्त्री सिंहलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमा बाँकेको नेपालगञ्ज ल्याइएको थियो। उनको उचपारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो। ‘५ बजेर ३३ मिनेट चिकित्सकले उहाँलाई मृत घोषणा गरेको कुरा यसै प्रेस विज्ञप्तिद्वारा जानकारी गराउन चाहन्छु,’ कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्री सिंहसँगै जीप चालक धर्मराज जोशी र प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई पनि उपचारका लागि नेपालगञ्ज ल्याइएको छ।
प्रदेश मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको जीप डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडमा सडकबाट झण्डै ५० मिटर तल कालङ्गा खोलामा खसेको थियो।
