पर्वत: फलेवासका छविलाल पौडेलले केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट वार्षिक रु १२ लाख आम्दानी गरेका छन्। कालीगण्डकी नदी किनारमा रहेको उनको घर वरिपरिको झण्डै ७० रोपनी जग्गामा रु ४० लाख लगानीबाट सो आम्दानी गरेका हुन्।
दक्षिण कोरियाको जागिरे जीवन त्यागेर गाउँमै फर्किएपछि व्यावसायिक रुपमा फलफूलखेती गर्न थालेका उनी अहिले गाउँको उदाहरणीय किसान बनेका छन्। पौडेलको केरा बगैँचामा घरपरिवार र थप दुईजना स्थानीयले रोजगारी पाएका छन्। सरकारले भारतबाट केरा आयातमा रोक लगाएपछि बजार मूल्य सन्तोषजनक रुपमा प्राप्त गरेकोमा पौडेल खुसी छन्।
उनले केरा स्थानीय फलेवास, कुश्मा, पोखरा र काठमाडौँसम्म बिक्रीका लागि लैजाने गर्नुभएको छ। पौडेलले यस वर्ष करिब ६० क्विन्टल खर्बुजा बिक्री गरे यसैगरी, उहाँले भक्तपुरे लोकल काक्रोको ३० केजी बीउ बिक्री गरेका छन्। आठ रोपनी क्षेत्रफलमा काक्रोखेती गरेका छन्।
उनले प्रतिकिलो काक्रोका बीउ रु दश हजारमा बिक्री गरे। कृषि औजार तथा मल बीउ खरिदका लागि स्थानीय फलेवास नगरपालिकाले पौडेललाई सहयोग पुर्याएको छ। त्यसैगरी कृषि विकास कार्यालय पर्वतले राजमार्ग/करिडोर केन्द्रित कृषि उत्पादन तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत चालु आवमा केराखेती विस्तारका लागि रु एक लाख ५५ हजार आर्थिक सहयोग गरेको कार्यालय प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए।


