काठमाडौं–यस वर्षको मनसुन सुरु भएसँगै प्राकृतिक विपद्का घटनामा परेर हालसम्म १० जनाको मृत्यु भएको गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक, शून्य र अन्य समयमा उठेक प्रश्नको जवाफ दिँदै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनामा परी १० जनाको मृत्यु, ६ घाइते र २६ बेपत्ता भएको बताएका हुन्। ५४ घर पूर्णरुपमा क्षति भएका र थप विवरण आउने क्रम जारी रहेको उनको भनाइ छ।
उनले भने, ‘३१ जेठबाट नेपालमा प्रवेश गरेको मनसुन प्रणालीको बढी असर देशको पूर्वी भू–भागमा परेको छ। संखुवासभा, पाँचथर, ताप्लेजुङलगायत जिल्लामा बढी विपद्जन्य घटना भएका छन्।’ विपद्मा परेकाहरुको उद्धार, राहत तथा खोजीका लागि सरकारले पहल गरिरहेको गृहमन्त्री श्रेष्ठले बताए। ‘४ असारमा प्रधानमन्त्रीको नेतृत्वमा विपद् प्रभावित क्षेत्रमा गयौं। संखुवासभाको तुम्लिङटारबाहेक अन्य स्थानमा मौसम अनुकूल हुँदा हेलिकोप्टर जान सक्ने अवस्था भएन। तुम्लिङटारबाट घटनाबारे विभिन्न जिल्लाका प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग जानकारी लिई आवश्यक निर्देशनसमेत दिएर काठमाडौं फर्किएका हौं’, उनले भने।
उनले विपद् प्रभावित उल्लिखित जिल्लामा जिल्ला सुरक्षा समिति, जिल्ला व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, स्थानीय जनसमुदाय र सञ्चारकर्मीको संलग्नतामा खोज तथा उद्धार जारी रहेको जानकारी दिए। अविरल वर्षाका कारण संखुुवासभाको चैनपुर नगरपालिका भएर बहने हेवा खोला र पिलुवा खोलामा आएको बाढीले खोला आसपासका बस्ती जोखिममा परेको उनले बताए।
‘बाढीका कारण चैनपुर–४ दोभानेमा निर्माणाधीन सुपर हेवा खोला जलविद्युत् आयोजनामा क्षति पुगेको छ। उक्त जलविद्युत् आयोजनामा काम गर्ने १८ कामदार र अन्य दुई स्थानका ३ गरी २१ जना बेपत्ता भएकामा ३ जानाको जीवितै उद्धार गरी उपचार भइरहेको र एक जनाको शव फेला परेको छ’, उनले भने। गृहमन्त्रीका अनुसार उक्त स्थानमा बाढीले ७ वटा घर बगाएको र ११ घर उच्च जोखिममा परेका छन्।
बाढीका कारण हेवा खोलामा रहेका २ मोटरेबल पक्की पुल र २ झोलुंगे पूर्ण रुपमा क्षतिग्रस्त र एउटा पक्की पुलमा आंशिक क्षति पुगेको उनले जानकारी दिए। स्थानीय प्रशासनको नेतृत्वमा सुरक्षा निकाय, स्थानीय तह र सडक डिभिजनका प्राविधिकसहित यसको क्षति आँकलन र यातायात सुरु गर्ने सम्बन्धमा काम भइरहेको उनको भनाइ छ। ताप्लेजुङमा बाढी पहिरोमा परी हालसम्म ३ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता र एक जना घाइते भएका छन्।
गृहमन्त्री श्रेष्ठका अनुसार सिदिङ्वा–६ मेहेलमा दुई वटा घरका ४ जनालाई घरसहित बगाएकामा एक जनाको शव प्राप्त भएको छ। साथै, बेपत्ताको खोज तथा उद्धार जारी छ। सोही पालिकाको नाभिभन्ज्याङमा २० घर पहिरोको जोखिममा रहेको र वडा–३ इलाबोटेका ४ घरसमेत गरी जिल्लाका विभिन्न स्थानका १३ घर पूर्ण रुपमा क्षति भएको गृहमन्त्रीले जानकारी दिए। सिदिङ्वा गाउँपालिका वडा–६ को अर्को स्थानमा पहिरोमा परी २ को मृत्यु र १ जना घाइते भएका छन्। घाइतेलाई उद्धार गरी हेलिकोप्टरमार्फत उपचारका लागि विराटनगर पठाइएको उनले बताए।
ताप्लेजुङका विभिन्न स्थानमा ५ वटा झोलुंगे पुल र एउटा पक्की पुलमा क्षति भएको छ। पहिरोको उच्च जोखिममा रहेका ३९ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको र जिल्लाबाट क्षतिको विवरण आउने क्रम जारी छ। पाँचथरमा पहिरोबाट हालसम्म ३ जनाको मृत्यु भएको छ भने एक जना घाइते र ३ बेपत्ता भएका छन्। मेची राजमार्गको हेवा खोलास्थित पुल बगाउँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ।
फिदिम वडा–४ तमोर करिडोर सडक खण्ड र फिदिम–४ हिलियाङको बेलीब्रिज बगाउँदा पूर्ण रुपमा अवरुद्ध भएको। सो आसपासमा ६ पक्की पुल, सात वटा झोलुंगे पुल र एउटा ट्रस पुलमा क्षति पुगेको छ।जिल्लाका विभिन्न स्थानमा ३४ घर पूर्ण रुपमा र २७ घर आंशिकरुपमा क्षतिग्रस्त भएका छन्। उक्त स्थानबाट १२० जनालाई स्थानीयलाई स्थानान्तरण गरिएको छ। रैराङ, माउन्टेन ‘ए’ र माउन्टेन ‘बी’ गरी ३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने विवरण आउन बाँकी छ।
तनहुँको मुग्लिङ–पोखरा सडक खण्डमा निर्माण गरिरहेको अवस्थामा पहिरो खस्दा ३ जना कामदार पुरिएको प्रहरीले उद्धार गरी १ जनाको दमौलीमा उपचार भइरहेको र २ जना कामदारको मृत्यु भएको उनले सदनलाई जानकारी दिए। पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको, सडक विभागको समन्वयमा मुख्य सडक मार्गमा बेलीब्रिज सञ्चालनका लागि यसको आकलन तथा स्थापना गर्न र मुख्य तथा सहायक राजमार्ग अवरुद्ध हुनासाथ तत्काल सडक डिभिजन कार्यालयका प्राविधिक र सुरक्षाकर्मी परिचालन गरी केही घन्टाभित्र अवरुद्ध सडक खुलाउन कार्य अगाडि बढाइएको उनले बताए।
गत १९ जेठमा उपप्रधानमन्त्री एवं गृहमन्त्रीको अध्यक्षतामा बसेको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय योजना, २०८० जारी गरी सबै संघीय निकाय र सरोकारवाला निकायको भूमिका निर्धारण गरी समन्वयात्मक परिचालनको व्यवस्था गरिएको उनको भनाइ छ। साथै, गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा सुरक्षा निकायका प्रतिनिधि, सडक, सिँचाइ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधि रहेको कमान्ड पोस्ट गठन गरी काम भइरहेको उनले बताए।
‘विपद्पीडित उद्धार तथा राहतसम्बन्धी मापदण्ड, २०७७ अनुसार मृतक परिवारमा १ जनाको मृत्यु भए २ लाख र सोही परिवारको थप अन्य कसैको मृत्यु भए प्रतिव्यक्ति थप १ लाखका दरले थप राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको छ’, उनले भने। साथै, घरबास क्षति भएकालाई सरकारले तत्काल जीवन गुजाराका लागि प्रतिपरिवार १५ देखि २० हजार उपलब्ध गराइएको गृहमन्त्री श्रेष्ठले बताए।


