अस्ट्रियाले सान्ता क्लाराको लेभिस स्टेडियममा जोर्डनमाथि ३-१ को सहज जित निकालेको छ। जोर्डन पहिलोपटक विश्वकपमा पुगेको हो।खेलमा रोमानो स्मिडले सुरुवाती गोल गरे भने जोर्डनका अली ओल्वानले दोस्रो हाफमा बराबरी गोल फर्काए। तर, खेलको अन्त्यतिर जोर्डनको आत्मघाती गोल र इन्जुरी समयको पेनाल्टीले अस्ट्रियाको जित सुनिश्चित गर्यो।
सोफास्कोरको तथ्यांक अनुसार राल्फ राङ्गनिकको टोलीले खेलमा स्थिर नियन्त्रण कायम राखेको थियो भने जोर्डनले काउन्टर अट्याक र ड्रिबलमार्फत कडा चुनौती दिएको थियो।
खेलको २१औं मिनेटमा ज्याभर स्लेगरको सुन्दर पासलाई सदुपयोग गर्दै रोमानो स्मिडले गोल गरी अस्ट्रियालाई अग्रता दिलाए। पहिलो हाफको अन्त्यतिर जोर्डनले दबाब सिर्जना गर्दै एउटा प्रहार गोलपोस्टको फ्रेममा समेत प्रहार गरेको थियो, तर पहिलो हाफ १-० मै सकियो। हाफटाइममा अस्ट्रियाले सासा कालाज्जिकको स्थानमा मार्को अर्नाउटोभिकलाई मैदान पठाएर आक्रमणमा नयाँ रणनीति अपनायो।
दोस्रो हाफ सुरु भएको केही समयमै जोर्डनले उत्कृष्ट पुनरागमन गर्यो। ५०औं मिनेटमा नूर अल-रावाबदेहको मुभलाई अली ओल्वानले दायाँ खुट्टाको प्रहारमार्फत गोलमा परिणत गर्दै खेल १-१ को बराबरीमा ल्याए। अस्ट्रियाले ५९औं मिनेटमा तीनवटा खेलाडी परिवर्तन गरी मिडफिल्ड र विङ्सलाई ताजा बनायो। खेलको ७६औं मिनेटमा दबाबमा रहेका जोर्डनका याजान अल-अरबले आफ्नै पोस्टमा आत्मघाती हेडिङ गोल गरेपछि अस्ट्रिया पुनः अगाडि बढ्यो। खेलको अन्तिमतिर (९०+१२ मिनेटमा) भीएआरको जाँचपछि प्राप्त पेनाल्टीलाई अर्नाउटोभिकले गोलमा बदल्दै अस्ट्रियाको ३-१ को जित पक्का गरे।
अस्ट्रियाले ६३% बल पोजेसन राख्दै ५८० मध्ये ४८८ पासहरू सफलतापूर्वक पूरा गर्यो। जोर्डनले ३७% पोजेसन र २४१ पास मात्र खेल्न सक्यो, जसले जोर्डन रक्षात्मक र काउन्टर अट्याकमा बढी केन्द्रित भएको देखाउँछ।
एक्सपेक्टेड गोलको आधारमा अस्ट्रियाको १.६६ र जोर्डनको ०.५३ रह्यो। दुवै टोलीले समान ११-११ सट प्रहार गरे पनि अवसरको गुणस्तरमा अस्ट्रिया हाबी रह्यो। जोर्डनले ड्रिबलमा राम्रो प्रदर्शन गर्दै ६३% सफलता प्राप्त गर्यो भने ग्राउन्ड ड्युल्समा ६०% जित हासिल गर्यो। तर, एरियल ड्युल्समा अस्ट्रिया ६४% का साथ निकै बलियो देखियो।
हारका बाबजुद जोर्डनका अली ओल्वान ७.७ सोफास्कोर रेटिङका साथ प्लेयर अफ द म्याच घोषित भए। उनले जोर्डनका लागि बराबरी गोल गर्नुका साथै खेलभरि विपक्षीलाई दबाबमा राखे। उनले कुल ४ वटा सट प्रहार गरे, जसमा २ वटा अन-टार्गेट थिए।


