काठमाडौँ: सरकारले नदी किनारका बस्तीमा डोजर लगाएर विस्थापित भई हाल होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूलाई ५ दिनभित्र उक्त स्थान खाली गर्न निर्देशन दिएको छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्ग अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूलाई शुक्रबारसम्म स्व:व्यवस्थापन गरेर होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम दिएको हो।
आयोजना प्रमुखद्वारा जारी सूचनामा विस्थापितहरूलाई सरकारले राहत रकम २५ हजार दिने निर्णय गरेको भन्दै सोअनुसार कार्यान्वयन गर्न भनिएको छ।
सूचनामा राहत प्राप्त गर्न खाता नम्बरसहित निवेदन पेस गर्न भनिएको छ। निवेदन प्राप्त हुनसाथ स्व: व्यवस्थापनका लागि २५ हजार दिइने र त्यसपछि वास्तविक सुकुम्वासी प्रमाणित भएमा मात्रै मासिक १५ हजार दिइने भनिएको छ। रकम प्राप्त भएपश्चात् शिविर बन्द हुने पनि सूचनामा भनिएको छ।
कीर्तिपुर होल्डिङ सेन्टरमा ६८ परिवारका २०३ जना बस्दै आएका छन्। उनीहरूलाई काठमाडौँका विभिन्न खोला किनारका सुकुम्वासी बस्तीबाट गत वैशाख १२, १३, १८, १९ र २० गते हटाएर त्यहाँ पुर्याइएको थियो।
सरकारले १० देखि १५ दिनभित्र एकीन भएका वास्तविक भूमिहीनलाई बसोबासको उचित प्रबन्ध गर्ने आश्वासन दिए पनि दुई महिना पुग्दा पनि सुकुम्वासी व्यवस्थापन गर्न सकेको छैन भने स्व:व्यवस्थापन गर्न भन्दै ५ दिने अल्टिमेटम दिइएको छ।


