२०८३ कार्तिक २२ गते शनिवार

काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक सवारीको सिसीक्यामेरा र जीपीएस

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ९
dasain_yatayat

काठमाडौँ: काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले प्रविधिको प्रयोगमा जोड दिइएको छ।

हालसम्म काठमाडौं उपत्यकामा तीन हजार ३०३ वटा सार्वजनिक सेवाका सवारीसाधनमा ड्यासक्यामेरा, सिसीक्यामेरा तथा जिपिएस प्रणाली जडान गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका साधनमा यात्रुको सुरक्षा, सवारी व्यवस्थापन तथा निगरानी प्रभावकारी बनाउन ड्यासक्यामेरा, सिसीक्यामेरा र जिपिएस प्रणाली अनिवार्य जडान गर्नुपर्ने व्यवस्था लागू भएको छ।

यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनमा उक्त प्रविधि जडान भए/नभएको विषयमा नियमित अनुगमन गर्न थालेपछि यातायात व्यवसायीहरूले पनि जडानलाई प्राथमिकता दिएका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सार्वजनिक यातायातमा हुने यात्रुमाथिको दुव्र्यवहार, बढी भाडा असुली, सवारी सञ्चालनको अवस्थालगायत विषयको निगरानी तथा नियन्त्रणका लागि क्यामेरा र जिपिएस प्रणाली प्रभावकारी हुने बताए।

उनले भने, ‘गाडीमा यात्रुलाई बढी भाडा लिने, यात्रुसँग हुने दुव्र्यवहार नियन्त्रण गर्न यो प्रणालीले निकै सहज बनाउने छ। विशेषगरी सवारी दुर्घटना हुँदा ठूलो सवारीसाधनको मात्र दोष देखिने प्रवृत्तिको अन्त्य गर्न तथा दुर्घटना बिमाको सम्भावित दुरुपयोग रोक्न पनि यसले सहयोग पुर्याउने छ।’

उनका अनुसार जिपिएस प्रणाली जडान भएपछि सवारीधनीले पनि आफ्नो गाडी कुन स्थानमा छ, कस्तो अवस्थामा सञ्चालन भइरहेको छ भन्ने जानकारी सहजै प्राप्त गर्न सक्नेछन्। यसले सवारीसाधनको नियमित अनुगमन, चालकको जिम्मेवारी र यात्रुको सुरक्षामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

त्यस्तै, सार्वजनिक यातायातमा ड्यासक्यामेरा र सिसीक्यामेरा जडान भएपछि सवारीभित्र हुने गतिविधिको अभिलेख राख्न सकिने भएकाले विवाद समाधानमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको ट्राफिक प्रहरी प्रमुख काफ्लेले बताए।

उता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय अध्यक्ष सरोज सिटौलाले सार्वजनिक सेवाका गाडीमा ड्यासक्यामेरा र सिसीक्यामेरालगायतका प्रविधि जडान गर्ने कार्य यातायात व्यवसायीका लागि सकारात्मक कदम भएको बताए।

उनले भने, ‘सार्वजनिक सेवाका सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जिपिएस जडान गर्नु हाम्रा लागि राम्रो कुरा हो। तर त्यसका लागि सरकारले पनि स्पष्ट कार्यविधि ल्याउन आवश्यक छ। कार्यविधि बनेपछि हामी सबै सवारीसाधनमा जडान गरी अगाडि बढ्न तयार छौँ।’

सार्वजनिक यातायात क्षेत्रलाई सुरक्षित, पारदर्शी र उत्तरदायी बनाउन प्रविधिको प्रयोग आवश्यक रहेको भन्दै यातायात व्यवसायीहरूले समेत गाडीमा ड्यासक्यामेरा र सिसीक्यामेरालगायत प्रविधि जडानमा प्रतिबद्धता जनाएका छन्।

आगामी दिनमा उपत्यकाभित्र सञ्चालन हुने सबै सार्वजनिक सेवाका सवारीसाधनमा यस्तो प्रणाली अनिवार्य गराउँदै यात्रु सुरक्षा र सवारी व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने योजना रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

प्रविधिमार्फत सार्वजनिक यातायातको निगरानी बढेपछि दुर्घटना न्यूनीकरण, यात्रुको गुनासो सम्बोधन तथा चालक–सवारीधनीको जिम्मेवारी निर्धारणमा थप सहजता आउने अपेक्षा गरिएको उनको भनाइ छ।

प्रकाशित: २०८३ असार ९ गते मङ्गलबार ०७:२५
प्रतिक्रिया

थप समाचार

oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना